जब ‘लाइभ कन्सर्ट’मा साउण्ड टेक्निसियनसँग एलिना चौहानको चर्काचर्की पर्यो
काठमाडौं । सांगीतिक प्रस्तुति दिन पर्वत पुगेकी गायिका एलिना चौहान र साउण्ड टेक्निसियनबीच ‘लाइभ कन्सर्ट’मै भनाभन भएको छ । साउण्ड मिलाउने कुरालाई लिएर दुईजनाबीच चर्काचर्की भएको देखिन्छ ।
यो भिडियो अहिले सामाजिक संजालमा भाइरल बनिरहेको देखिन्छ । पर्वतमा जारी तेस्रो ऐतिहासिक मगर राष्ट्रिय महोत्सवको क्रममा यस्तो भनाभन भएको हो ।
भिडियोमा एलिनाले टेक्निसियनलाई साउण्ड मिलाउन आग्रह गरिरहेको देखिन्छ । ती प्राविधिकले चाहिँ ‘भोकललाई क्लियर गरेर हामीसँग लेबल माग्नु’भनेर जवाफ दिएका छन् ।
त्यसपछि एलिनाले भनेकी छन्- पहिलो तपाईंको त्यो बोल्ने ढंग सुधार गर्नु है बुझ्नूभो ? आफ्नो गल्ती…यहाँ आएर एकचोटी उफ्रेर हेर्नु त । तपाईंले मलाई सिकाउनु पर्दैन क्या । बुझ्नु भो नि । नाच्न जान्दैन आँगन टेडो भनेको यही हो क्या । मिलाउन आउँदैन अनि । लाज लाग्दैन यस्तो बोल्नलाई ?
त्यसपछि ती टेक्निसियनले भनेका छन्- तपाईंले भन्दा हामीले धेरै काम गरिसकेका छौं ।’ त्यसपछि एलिनाले अन्य आयोजकसँग कराएको देखिन्छ । उनीहरुबीच स्टेजमै यस्तो भनाभन हुँदा दर्शकले हुटिङ गरिरहेका छन् । दर्शकले ती साउण्ड टेक्निसियनमाथि खनिएका थिए ।


