हाजिर जमानीमा महरालाई छाड्ने तयारी
काठमाडौं । प्रहरी नियन्त्रणमा रहेका पूर्व सभामुख कृष्णबहादुर महराको स्वास्थ्य अवस्थाका कारण हाजिर जमानीमा छाड्ने तयारी गरिएको छ । महराको स्वास्थ्य अवस्थालाई कारण देखाउदै हाजिरी जमानीको अनुरोध गर्ने तयारी गरिएको हो ।
अदालतबाट प्राप्त ४ दिनको म्याद सकिएसँगै महरालाई आज म्याद थपका लागि अदालत पेश गरिन लागेको हो ।अदालतमा स्वास्थ्य अवस्था कमजोर देखाएर अनुसन्धान अधिकृतलाई प्राप्त अधिकार प्रयोग गरेर हाजिर जमानीमा छाड्न अनुरोध गरिने सिआइबी स्रोतले जनाएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले दुई दिन लगाएर महरासँगको बयान लिइसकेको छ ।
सीआइबीको बयानपछि महरालाई नर्भिक अस्पतालमै भर्ना गरिएको छ । बयान लिने क्रममा डिस्चार्ज गरेर लैजाने र बयान सकिएपछि पुनः भर्ना गरिएको थियो । बयानका क्रममा उनको स्वास्थ्य अवस्था नाजुक भएको अनुसन्धान अधिकृतको भनाइ छ ।
महरालाई गत चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ गरिएकोे थियो । गत साउन २ गते ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोट (भेप) मा ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न चिनिया नागरिकसँग महराको नाम जोडिएको आरोपमा महरामाथि अनुसन्धान सुरु भएको हो ।सोही प्रकरणमा महराका छोरा राहुल गत भदौ १३ गते नै पक्राउ परिसकेका छन् ।


