सहिद भीमनारायण गोल्डकप : उपाधिका लागि विभागीय टोली एपीएफ र विर्तामोड युनाइटेड क्लब झापा भिड्दै
धनकुटा । शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको १६ औँ संस्करणको उपाधिका लागि विभागीय टोली एपीएफ क्लब र विर्तामोड युनाइटेड क्लब झापा भिड्दै छन्। खेल शनिबार दिउँसो २ बजे शुरु हुने आयोजकले जनाएको छ।
एपीएफ राष्ट्रिय जागृति फुटबल क्लबलाई टाईब्रेकरमा ३-२ ले हराउँदै फाइनलमा पुगेको हो। यस्तै विर्तामोड युनाइटेड आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठानलाई ३-० ले हराउँदै फाइनलमा पुगेको हो।
प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफी मेडल, कप, प्रमाणपत्र हात पार्नेछन्। सबैभन्दा बढी गोल गर्ने, म्यान अफ द म्याच तथा सर्वोत्कृष्ट खेलाडीले पनि नगद हात पार्ने आयोजकले जनाएको छ।
तत्कालीन राजा वीरेन्द्र शाहलाई बम प्रहार गरेको आरोपमा २०३५ सालमा मृत्युदण्ड दिइएका भीमनारायण श्रेष्ठको स्मृतिमा प्रतियोगिता सञ्चालन हुँदै आएको छ। श्रेष्ठलाई सरकारले २०७४ सालमा शहीद घोषणा गरेको थियो।


