धनकुटामा ८१ प्रतिशत खेतमा धान रोपाईं सम्पन्न
धनकुटा,२१ साउन । धनकुटामा हाल सम्म ८१ प्रतिशत खेतमा मात्र धान रोपाई भएको छ ।
धनकुटामा असारे धान खेती हुने करिब ४ हजार ९ सय ३८ हेक्टर मध्ये अहिले सम्म ८१ प्रतिशत अर्थात ४ हजार हेक्टर खेतमा मात्र धान रोपाइ भएको कृषिज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र बहादुर रानाले जानकारी दिए ।
धनकुटामा धान रोपाइ करिब अन्तीम अवस्थामा पुगेको र अव करिब ७ देखि १० प्रतिशत मात्र रोपाइ हुने समेत प्रमुख रानाले जानकारी दिनु भयो । धनकुटामा अधिकांश खेत आकासे पानीको भरमा रोपाइ गर्नु पर्ने बाध्यता रहेको छ ।
धनकुटाको लेगुवा,आहाले, महाभारत, तांखुवा, परेवादिन लगायतका जिल्लाका अन्य स्थानमा असारे धान खेतीहुने गरेको छ । धनकुटामा उन्नत जातको धानको खेती भन्दा स्थानिय जातको धानको खेती बढी हुने गरेको कृषिज्ञान केन्द्र धनकुटाले जनाएको छ ।


