कानुनका छिद्रमा टेकेर सभापति माथि साँधिने राजनीतिक प्रतिशोध स्वीकार्य छैन :रास्वपा धनकुटा
धनकुटा,४ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी धनकुटाले कानुनका छिद्रमा टेकेर रास्वपा सभापति माथि साँधिने राजनीतिक प्रतिशोध स्वीकार्य नहुने बताएको छ ।
पार्टी सभापति रबि लामिछाने सहकारी ठगीको अभियोगमा पक्राउ पछि आज रास्वपा धनकुटाका संयोजक बालानन्द दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ –
उपर्युक्त सम्बन्धमा सहकारी ठगी सम्बन्धि गठित संसदीय छानवीन समितिले दिएको प्रतिवेदन अनुसार वास्तविक सहकारी ठगी गर्ने व्यक्तिहरूलाई खोजविन पश्चात कारवाही गरि जनताको रकम फिर्ता दिलाउनु पर्ने दायित्वबाट विमुख भई सहकारी बाट रकम अपचलनमा संलग्न नभएको किटान हुदाहुदै जनताले आशा गरेका नेता रवि लामिछानेलाई राजनीतिक प्रतिशोध साँध्ने गरि भएको धर पकड प्रति राष्ट्रिय स्वतन्त्र पार्टी धनकुटा घोर भर्त्सना गर्दछ ।
संसदीय छानबिन समितिले सहकारी ठगीमा कुनै संलग्नता नरहेको भनी पुष्टी गरेको अवस्थामा सोही मुद्दामा सभापतिलाई पक्राउ गरिनु राजनीतिक पूर्वाग्रह प्रेरित कदम रहेको हाम्रो ठम्याई छ । तथापि रास्वपा विधिको शासनलाई सम्मान गर्दै राज्यका न्यायिक निकायको छानबिनलाई सघाउन सदैव तयार छ । तर, कानुनका छिद्रमा टेकेर रास्वपा र हाम्रा सभापति माथि साँधिने राजनीतिक प्रतिशोध हामीलाई कदापि स्वीकार्य छैन ।
हामी यो देशमा परिवर्तन चाहने सम्पूर्ण आम धनकुटेली जनतालाई आह्वान र अनुरोध गर्न चाहन्छौं, यो देशमा दशकौं देखि हुँदै आएको राजनीतिक जालझेलको विरुद्ध उभिन सचेत रहनुहोस् ।



