धनकुटामा एभोकाडो तथा स्थानीय उत्पादनको प्रदर्शनी(भिडियो सहित)
धनकुटा । धनकुटा नगरपालिकाले एभोकाडो तथा स्थानीय उत्पादनको प्रदर्शनी आयोजना गरेको छ ।
प्रदर्शनीमा धनकुटा नगरक्षेत्रमा उत्पादन भएको एभोकाडो बिभिन्न तरकारीवाली, अचारका परीकार, एभोकाडो आँप किबी आदिवाट उत्पादन गरीएको जुस कृषि सामाग्री लगायत बस्तु प्रदर्शनीमा राखिएको छ । त्यस्तै काष्ठकला, होमस्टे सम्बन्धि जानकारीको लागि समेत स्टल राखिएको छ ।
एभोकाडो सहितका स्थानीय उत्पादनहरूको प्रवर्द्धन तथा कृषक एवं उद्यमीहरूलाई प्रोत्साहनका लागि प्रदर्शनी गर्न लागिएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले जानकारी दिनुभयो । प्रदर्शनीमा अहिले सम्म धनकुटामा फलेको सबै भन्दा ठुलो एक किलो दुइ सय तिस ग्रामको एभोकाडो समेत राखिएको छ ।
नगरपालिका कार्यालयको प्राङ्गणमा एक दिने प्रदर्शनीमा एभोकाडो तथा उत्पादनहरूको प्रदर्शनी तथा बिक्री वितरण गरिएको हो । प्रदर्शनीमा उद्यमशीलता विकास सम्बन्धी परामर्श पनि दिइने नगरपालिकाका आर्थिक बिकास शाखा प्रमुख बिकास अधिकारीले जानकारी दिनुभयो । प्रदर्शनीका लागि धनकुटा नगरपालिकाले स्टल निःशुल्क उपलब्ध गराएको थियो ।
कृषक, उत्पादक, व्यवसायी, विज्ञ तथा लगानीकर्ताको एकै ठाउँमा भेटघाट तथा अन्तरक्रिया हुने भएकाले प्रदर्शनीले स्थानीय उत्पादनको प्रवर्द्धन तथा बजारिकरणमा सघाउ पुर्याउने धनकुटा नगरपालिकाले जनाएको छ ।
पाँच बर्ष अघि धनकुटालाई एभोकाडोको राजधानी घोसणा गरे संगै धनकुटामा बर्षेनी एभोकाडो महोत्सव हुदै आएको छ । धनकुटामा हाल ४ हजार ९ सय २६ परिवारले १२ हजार ९९ सय रोपनीमा खेती गर्दै आएका छन् ।


