विश्व शिक्षा दिवस र नेपालको उच्च शिक्षा

– प्रकाश रेग्मी

नेपालमा प्रत्येक वर्ष असोज २ गते शिक्षा दिवस मनाउने गरिन्छ। तर, यो लेखको सन्दर्भ अन्तर्राष्ट्रिय शिक्षा दिवससँग सम्बन्धित छ जुन, हरेक वर्ष जनवरी २४ मा मनाउने गरिन्छ।

यस वर्षको नेपाली पात्रो अनुसार अन्तर्राष्ट्रिय शिक्षा दिवस माघ ११ गते  परेको छ। यस पटक युनेस्कोले सन् २०२५ को अन्तर्राष्ट्रिय शिक्षा दिवस को नारा ‘आर्टिफिसियल इन्टेलिजेन्स’लाई प्रदान गरेको छ भने नेपाल सरकारले उक्त दिवसको नारा ‘ज्ञान, विज्ञान, सीप, उद्यम र रचनात्मकता: साझेदारी र प्रणालीगत क्षमता’लाई गरेको छ। युनेस्को भनेको, संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन हो, यसले शिक्षा, विज्ञान, संस्कृति, सञ्चार र सूचनामा अन्तर्राष्ट्रिय सहयोग प्रवर्द्धनमा योगदान पुर्‍याउँछ।

सामान्यतया: शिक्षा दिवसमा नेपालमा शिक्षासँग समन्धित जनहरू मिलेर शिक्षाको गुणस्तरमा सुधारको लागि के कस्ता सुधारका कामहरू गर्न सकिन्छ भनी छलफलका कार्यक्रमहरू गर्ने गरिन्छ र साथै रैली, गोष्ठी, सेमिनार, वादविवाद कार्यक्रम, पुरस्कार वितरण र पोस्टर टाँस्नेजस्ता कार्यक्रमहरू पनि प्रचलनमा छन्। तर, यस वर्ष संसारको सबैभन्दा बढी विकसित मानिने अमेरिकाले भने यस दिन, देशभरका स्कुलहरूले अभिभावकहरूलाई कक्षाकोठामा आउन निम्तो दिने र त्रिकोणात्मक छलफल (अभिभावक शिक्षक र विद्यार्थी) गर्ने कुरा यहाँका सूचना माध्यामहरूमा देखिन्छन्। उक्त छलफलमा शिक्षकहरूले अभिभावकसँग प्रश्न गर्नेछन् कि उनीहरूका छोराछोरीमा के कस्तो परिवर्तन भइराखेको छ? अभिभावकले प्रश्नको उत्तर दिनेछन् र थप सुझाव राख्नेछन्।

संसारको अर्को विकसित देश बेलायत यस वर्ष सामान्यतया शिक्षाको महत्त्वबारे चेतना जगाउने उद्देश्यले विभिन्न गतिविधिहरू जसमा : शिक्षाका मुद्दाहरूमा बहस र प्रस्तुतिहरू, विपन्न विद्यार्थीहरूको लागि परोपकारी कोष संकलनजस्ता स्कुल कार्यक्रमहरू, शिक्षाको मूल्यलाई हाइलाइट गर्ने जनचेतना अभियानहरू र शैक्षिक चुनौतीहरू र यसका समाधानका उपायहरूबारे  छलफल गरी त्यसमा स्थानीय समुदायहरूलाई कसरी संलग्नता गर्ने कार्यक्रमसहित योजना निर्माण गर्ने कुरा उसका सञ्चार माध्यमहरूमा देख्न सकिन्छ। 

राष्ट्रिय र अन्तर्राष्ट्रिय दिवसहरूमा विषयगत विषयहरूमा विवेचना गर्दा देशको मुहार झल्कने र समस्याका छिद्रहरू पनि पहिलाउन सहज हुने र सम्बन्धित निकायहरूलाई पनि जानकारी गराउन सहज चाँजो पर्ने हुँदा यस विवेचनाको केही प्रभाव होला भन्ने उद्देश्यले नेपालको उच्च शिक्षाबारे छोटो विवेचना गरिएको छ।

नेपालको राष्ट्रिय तथ्यांक विभागले गरेको राष्ट्रिय जनगणना २०७८ को व्यक्तिगत तालिका अनुभाग टेबलहरू १९, २० र २१ को आधारमा देशको मुहारको विवेचना गरिएको छ। यस विवेचनालाई थप विशिष्टता दिनको लागि भर्खरै जारी भएको देशको संविधान बमोजिमका ७ प्रदेश अनुसारको स्थानीय भिन्नताहरू र शिक्षा मन्त्रालयमा महिला नेतृत्व भएको अवसरमा लैंगिक समानताको हिसाबले पनि विवेचना गर्न प्रयास गरिएको छ। किनकि, अझै पनि समाजमा लैंगिक विभेद उच्च छ भन्ने गरिन्छ र यो विवेचना १५ वर्ष उमेरमाथिका उमेर समूह (उच्च शिक्षा)को आधारमा गरिएको हो।    

नेपालमा १५ वर्षदेखि ७५ वर्षसम्मका मानिसहरू उच्च शिक्षामा पहुँच राख्दछन् पनि भन्ने कुरा तथ्याङ्कले देखाउँछ। नेपालाको जनगणना २०७८ को तथ्याङ्कले शिक्षाको लागि उमेर बाधा होइन भन्ने कुरा स्पष्ट पारेको छ। देशको कुल जनसंख्या २,९१,६४,५७८ मध्ये २,०९,९८,४७९ अर्थात् ७२ प्रतिशत मानिसहरू यस उमेर समूहमा पर्दछन् र ती कुल ७२ प्रतिशत जनसंख्यामध्ये ३९,७२,६६४ (१९ प्रतिशत) मानिसहरू जनगणना गर्दाका बेला उच्च शिक्षाको पहुँचमा रहेको देखिन्छ। जसमा १८,४२,३०५ (४६ प्रतिशत) महिला र २१,३०,३५९ (५४ प्रतिशत) पुरुष छन्।

यसरी हेर्दा लैंगिक विभेदमा अन्तर भए पनि ठूलो अन्तर देखिँदैन। उमेर समूह १५ देखि १९ वर्ष समूहका जम्मा ४,१७,४९७ विद्यार्थी कलेजमा थिए। तर, उमेर समूह २० देखि २४ मा पुग्दा यसको संख्या बढेर ११,००,८२७ पुगेको छ। यसरी यो संख्या बढ्नुको कारण १५ देखि १९ वर्ष समूहका सबै विद्यार्थीको कलेज जान योग्यता पुगेको हुँदैन र त्यसपछि उमेर पुगेपछि कलेज जानेको संख्या बढ्दै जानाले यसो भएको हो। सुरूको कलेज जाने उमेर समूह (१५ देखि १९ वर्ष)मा विद्यार्थी संख्यामा महिलाको अनुपात बढी छ (महिला २,१९,८४६ अर्थात् ५२.६५ प्रतिशत र पुरुष १,९७,६५१ अर्थात ४७.३५ प्रतिशत) तर यो उमेरबाट माथि गएपछि क्रमस महिलाको अनुपात कम हुँदै गएको छ र उमेर समूह ७५ माथि पुग्दा महिला २,२५१ अर्थात् १६.१५ प्रतिसत मात्र देखिन्छ।

विषयगत हिसाबले हेर्दा केही भिन्नता देखिन्छ। यहाँ १० विभिन्न विषयलाई लिएर विवेचना गरिएको छ। ती १० विषयमा मानविकी, व्यवस्थापन, शिक्षा, विज्ञान, चिकित्सा, इन्जिनियरिङ, कानुन, कृषि, वन, पशु चिकित्सा र कम्प्युटर रहेका छन्। धेरै विद्यार्थी भएका विभागहरूमा क्रमश: व्यवस्थापन, शिक्षा र मानविकी हुन्। यी विषयहरूमा विद्यार्थीहरूको चाप बढी रहेको पाइन्छ।

यी विभिन्न विषयगत हिसाबले हेर्दा सबैभन्दा धेरै विद्यार्थी व्यवस्थापन विषयमा रहेको देखिन्छ। व्यवस्थापन विषयमा ७ लाख ८६ हजार पुरुष र ६ लाख ८ हजार महिला रहेका छन्। दोस्रो, धेरै विद्यार्थी भएको विषय शिक्षा हो, जहाँ पुरुषभन्दा महिलाको संख्या बढी छ। यस विषयमा ६ लाख ६६ हजार महिला छन् भने ५ लाख २४ हजार पुरुष विद्यार्थी रहेका छन्। मानविकी तेस्रो धेरै विद्यार्थी भएको विषय हो र यहाँ पनि पुरुष विद्यार्थीको नै अधिकता रहेको छ। विज्ञान र इन्जिनियरिङ विषयमा महिला र पुरुषको अनुपात अधिक विषम रहेको छ। तर, समाजले उच्च सम्मान गर्ने विषय चिकित्साशात्रमा भने महिलाको संख्या धेरै रहेको छ। 

देशका सात प्रदेशमध्ये बागमती प्रदेशमा विद्यार्थी संख्या सबैभन्दा बढी छ। वि.सं. २०७८ को राष्ट्रिय जनगणनाको समयमा १५ वर्षभन्दा माथिका कुल ३९,७२,६६४ विद्यार्थी छन्। राष्ट्रिय जनगणनाको नतिजा अनुसार बागमती प्रदेशले मात्र कुल राष्ट्रिय विद्यार्थी संख्याको ३६ प्रतिशत हिस्सा ( जम्मा संख्या १४,२७,६७०) ओगटेको छ। बागमती प्रदेशमा पुरुष विद्यार्थी संख्या ७,५५,२७१ (५३ प्रतिशत) र महिला विद्यार्थी संख्या ६,७२,३९९ (४७ प्रतिशत) रहेका छन्। दोस्रो ठूलो विद्यार्थी संख्या बढी भएको प्रदेश कोशी हो, त्यहाँ ६,०९,५८१ (देशको कुल विद्यार्थी संख्याको १५ प्रतिशत) विद्यार्थी संख्या छन्। तेस्रो ठूलो विद्यार्थी संख्या बढी भएको प्रदेश लुम्बिनी प्रेदेश हो र त्यहाँ ५,५८,४९९ (देशको कुल विद्यार्थी संख्या को १४ प्रतिशत) विद्यार्थी संख्या छ।

यी तिनै ठूला प्रदेशमा महिलाभन्दा पुरुष धेरै छन्। मधेश प्रदेश चौथो ठूलो विद्यार्थी संख्या बढी भएको प्रदेश हो तर महिला र पुरुषबीच ठूलो विभेद देखिन्छ। त्यहाँ देशको झन्डै १३ प्रतिशत (५,०३,८५० विद्यार्थी संख्या) विद्यार्थी संख्या रहेकोमा जम्मा ३७ प्रतिशत महिला रहेका छन्। सबैभन्दा कम  विद्यार्थी संख्या भएको प्रदेश कर्णाली हो र त्यहाँ देशको कुल विद्यार्थी संख्याको ४.६ प्रतिशत (१,८३,३३३ विद्यार्थी संख्या) रहेका छन्। गण्डकी प्रदेश मात्र त्यस्तो प्रदेश हो, जहाँ महिला विद्यार्थी संख्याको ५०.१४ प्रतिशत अर्थात पुरुषको भन्दा बढी रहेको छ। 

नेपालको उच्च शिक्षामा पहुँच क्रमश: बढ्दै गएको छ। उमेर समूह ७५ भन्दामाथि पुग्दा पनि अध्ययन गर्नेको संख्या १६,१९० कायम छ। जसमा महिलाको  संख्या जम्मा २,२५१ ( जम्मा १६ प्रतिशत) रहेको छ। यसरी महिला र पुरुषबीच विभेद भने कायम छ। व्यवस्थापन र मानविकीमा पुरुषको संख्या बढी छ भने शिक्षाशास्त्रमा र चिकित्सा विषयमा महिला बढी छन्। यसरी शिक्षाशास्त्रमा महिला बढी हुनुमा महिलाहरूमा शिक्षक पेशामा धेरै चाख हुनु र चिकित्सा विषयमा महिला बढी हुनुमा नर्सिङ पेशामा आकर्षण हुन्। देशको ७ वटा प्रदेशमधे बागमती प्रदेश सबैभन्दा बढी विद्यार्थी भएको प्रदेश हो।

लामो समयदेखि केन्द्रीय शासन प्रणाली भएकोले सबै किसिमका सेवा-सुविधा काठमाडौं केन्द्रित हुनु यसको प्रमुख कारण हो। मदेश प्रदेश सबैभन्दा धेरै महिला र पुरुषबीच विभेद भएको प्रदेश बनेको छ। कर्णाली प्रदेश सबैभन्दा उच्च शिक्षामा पछाडि परेको छ। गण्डकी प्रदेश मात्र त्यस्तो प्रदेश देखिएको छ कि जहाँ पुरुषभन्दा महिलाको संख्या १,१०८ ले बढी देखिन्छ। यो प्रदेशमा पुरुष विद्यार्थी संख्या १,९३,५३४ छन् भने महिला १,९४,६४२ रहेको देखिन्छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।