सहिद भीम मारायण श्रेष्ठको ४६ औं स्मृति दिवसको अवसरमा धनकुटामा परिवारलाई सम्मान
धनकुटा । “जीवन रहे भेट हुन्छ । मिलेर संर्घष गरिन्छ । नरहे हाम्रो भेट यति हो । बाचेकाले क्रान्ति गर्नु । मेरो यही खवर सुनाई दिनु” -राष्ट्रिय सहिद भीम नारायण श्रेष्ठको अन्तिम वाक्यांश।
१९९४ साल आषाढ २४ गते धनकुटा जिल्लामा जन्मनु भएका सहिद श्रेष्ठले तत्कालिन राजा विरेन्द्र र उनका परिवार विराटनगर सवारी हुदा बम प्रहार गरेको अभियोगमा पक्राउ पर्नु भएको थियो । २०३० साल चैत्र ३ गते सो अभियोगमा पक्राउ पर्नुभएका सहिद श्रेष्ठले लामो समयसम्म जेलमा कठोर खेप्नुपर्यो । त्यसपछि २०३५ साल माघ २६ गते कोशी टप्पुमा लगेर तत्कालीन सरकारले गोली हानी मृत्यु दण्ड दिइएको थियो । सहिद श्रेष्ठले आफुलाई मुत्यु दण्ड दिनका लागि जेलबाट निकाल्दै गरेको समयमा उल्लेखित वाक्यांश भन्नुभएको थियो ।
राष्ट्रिय सहिद श्रेष्ठको ४६औं स्मृति दिवसको अवसरमा आज धनकुटामा उहाँको परिवारलाई सम्मान गरिएको छ । नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले सहिद श्रेष्ठकी धर्मपत्नी लक्ष्मी देवी श्रेष्ठ,जेष्ठ सुपुत्र मनोज नारायण श्रेष्ठ र छेठी छोरी ममता श्रेष्ठलाई सम्मान गर्नु भयो ।
सो अवसर सहिद श्रेष्ठको परिवारजनले सहिदहरुको देखाएको बाटोमा हिडे साचो अर्थमा सहिदहरुप्रति सम्मान हुने वताए । सहिद श्रेष्ठका कान्छा सुपुत्र नेपाली कांग्रेसका नेता संविधान सभा सदस्य मनोहर नारायण श्रेष्ठ काठमाण्डौमा र कान्छी छोरी बबिता श्रेष्ठ अहिले जिल्ला वाहिर रहनु भएकोले उहाहरुलाई सम्मान गर्न नसकिएको धनकुटा सहिद स्मृती प्रतिष्ठानका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठले वताउनु भयो ।
सम्मान समारोहमा सहिद भीम नारायण श्रेष्ठ स्मृती प्रतिष्ठान धनकुटाका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठ,धनकुटा सहिद स्मृती प्रतिष्ठानका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ र नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास लगायतको उपस्थिती थियो ।
प्रजातन्त्रको योद्धा सहिद श्रेष्ठलाई २०७२ सालमा सरकारले राष्टिय सहिद घोषणा गरेको थियो ।


