हिउँद र सुख्खा लाग्यो आगलागीकै पीर
धनकुटा,७ फागुन । धनकुटामा पछिल्लो तीन वर्षमा भएका डढेलो र आगलागीका घटनाबाट १ सय १३ घर गोठ र ४ सय ४६ पशुचौपाया जलेका छन् ।
हिउँद र सुख्खा खडेरीको समयमा बस्ती र वनजंगलमा हुने आगलागीका घटनाले मानवीय र भौतिक क्षति मात्र निम्त्याउँदैन वातावरण असन्तुलनको कारण समेत बन्ने गरेको छ तर आगलागी र वन डढेलोको सम्भावित जोखिम न्यूनिकरण, रोकथाम तथा नियन्त्रणका लागि भएका प्रयास प्रभावकारी नहुँदा धनकुटामा बर्षेनी क्षतिको विवरण बढ्दो छ ।
धनकुटामा मात्र तथ्याकलाई हेर्दा १० करोड रुपैयाँ भन्दा बढीको वनस्रोत जलेर नष्ट भयो । गएको वर्षमात्रै धनकुटाका ८१ स्थानमा लागेको डढेलोले न्यूनतम ५ सय ८५ हेक्टर वन क्षेत्र खरानी भयो भएको विवरण छ । सुक्खा बढ्दै जाँदा वन डढेलो र आगलागीका सम्भावित घटनाको जोखिम हुने र अझै सरकारी संयन्त्रको उपस्थिती कम हुने तथा पानीको स्रोत नभएका स्थान र दमकल पुग्न नसक्ने स्थानमा भएका आगलागीले गर्ने क्षेती हेर्ने भन्दा अरु उपाय नभएको धनकुटाको छथर जोरपाठी गाउँपालिका ४ का लेखनाथ ओझा बताउँछन् ।
उनि भन्छन् गाउँघरमा बसाईसराईले गर्दा घरहरु पातलिएका छन् वन जंगल बढेको छ जसले गर्दा आगलागीको जोखिम संगै पर्यावरणमा समेत ज्यादै असर परेको छ आगो निभाउनका लागि आवश्यक स्रोत नागरीक संग नहुदाँ समेत क्षेती बढ्ने गरेको ओझा बताउँछन् ।
आगलागीको समय आएको तर बस्ती र नजिकको वन सम्भावित डढेलोबाट जोगाउन सक्ने क्षमता उपभोक्तासँग छैन । वन डढेलो नियन्त्रण टाढाको कुरा, बस्तीमा आगो पस्दा निभाउन माटो र स्याउलाकै भर पर्नुपर्ने अवस्था रहेको धनकुटा नगरपालिकामा रहेको बडहरे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष शिवनाथ राईको भनाई छ । दाउरा, घाँस र स्याउलासोत्तरको उपयोग घट्दा त्यस्ता वनस्रोत वनमै सुकेर रहन्छन् । झट्टै आगो सल्कन र फैलिन यिनै पैदावार सहायक बन्छन् ।
प्रकृयागत झन्झटका कारण ढलापडा र सुकेका रूख हटाउन समस्या छ । कानुनी उल्झनका कारण वनस्रोत परिचालन गर्न नपाउँदा वन डढेलो रोकथाम कठिन बन्ने गरेको सामुदायिक वन उपभोक्ता महासंघ, धनकुटाका अध्यक्ष नीलबहादुर थापा बताउँछन् ।


