सोलुखुम्बुमा भीषण आगलागी, आगो नियन्त्रण बाहिर
सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिका कार्यालयअन्तर्गत प्रधानमन्त्री रोजगार शाखा र पूर्वाधार शाखा रहेको भवनमा आगलागी भएको छ। आज दिउँसो करिब एक बजे कार्यालयको माथिल्लो तलामा आगो लागेको हो।
उक्त तलामा भान्छा रहेको र आगलागीको कारण खुलेको नभए पनि विद्युत् सर्ट हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।
गाउँपालिकाकी अध्यक्ष मिना कार्की बस्नेतका अनुसार हावाहुरीले पोल ढलेकाले दुई–तीन दिनदेखि विद्युत् आपूर्ति बन्द थियो। ‘आज बिजुली आएपछि आगलागी सुरु भयो, त्यसैले तार सर्ट भएको हो कि भन्ने हाम्रो अनुमान छ,’ उनले भनिन्।
हावा चलिरहेकाले आगो नजिकैको बस्तीमा फैलिन नदिन स्थानीय बासिन्दा, जनप्रतिनिधि र प्रहरी परिचालित भएका छन्। तर गाउँपालिकामा दमकल नहुँदा आगो निभाउन कठिनाइ भइरहेको छ।


