धनकुटाका साहित्यकार रोशन परियारलाई रमेश स्मृति सम्मान, प्रोत्साहन पुरस्कार समज्ञालाई
धनकुटा,१ चैत । धनकुटाको पाख्रीबास नगरपालिका ४ स्थायी घर भइ नेपाली साहित्यमा उच्च योगदान दिंदै आएका साहित्यकार रोशन परियारलाई यस बर्षको रमेश स्मृति सम्मान-२०८१ प्रदान गरिने भएको छ। साहित्यकार रमेश हरिलठ्ठकको स्मृतिमा स्थापना गरिएको उक्त पुरस्कार परियारलाई प्रदान गर्ने निर्णय गरिएको कोषले जनाएको छ ।
कोषले हरेक वर्ष नेपाली भाषा-साहित्यमा सक्रिय रहेका साहित्यकारलाई सम्मान गर्दै आइरहेको र छनौट समितिले यस बर्ष परियारलाई उक्त सम्मान प्रदान गर्ने निर्णय गरेको संयोजक दीप मिलनले जानकारी दिए।
कोषले यसै वर्षदेखि प्रोत्साहन पुरस्कार पनि प्रदान गर्ने निर्णय गरेको छ। यस वर्षको प्रोत्साहन पुरस्कार देवदहकी समज्ञा अधिकारीलाई प्रदान गर्ने निर्णय भएको संयोजक मिलनले जानकारी दिए।समज्ञा साहित्यिक तथा सामाजिक संस्था उज्यालो लालटिन प्रतिष्ठानको संस्थापक सदस्य अहिले सोही संस्थामा अध्यक्ष रहेकी छन् ।
हरिलठ्ठक आधुनिक गजल लेखनमा सक्रिय थिए। २०३७ सालमा जन्मिएका उनको २३ वर्षको अल्पायुमा निधन भएको थियो। उक्त सम्मान,पुरस्कार प्राप्त गर्ने साहित्यकारको नाम हरिलट्ठकको ४४औँ जन्मजयन्तीका अवसरमा कोषले सार्वजनिक गरेको हो।

