जीवन बचाउन घर फर्किएका बिसनलाई आर्थिक संकट
नारायण कुमार राई/धनकुटा,१३ चैत । एक बर्ष अघि बैदेशिक रोजगारका लागि मलेसिया गएका धनकुटा नगरपालिका वडा नं.८ लुकुवा टोलका बिसन राई केहि दिन अघि जिउमा आलो घाउ बोकेर रित्तो हात घर फर्किएका छन् ।
गत बर्ष कार्तिकमा आफन्त र साहुको साढे तीन लाख ऋण सापटी लिएर मलेसिया रोजगारीमा पुगेका २५ बषिया बिसनलाई अहिले साहु र आफन्तको ऋणले भन्दा शरिरको घाउले पिरोलिरहेको छ ।
मलेसिया पुगेर काम गरेको १४ महिनामा उनलाई अचानक एपेन्डिसाइटिसको बिरामी भएर अस्पताल भर्ना हुनपुगे ।
अस्पतालमा एपेन्डिसाइटिसको अपरेशन गरेर एक महिना अस्पताल बसेर काममा फर्किएका गर्मिका कारण उनको घाउ पाकेर अपरेशन गर्दा लगाएको बन्धन(टाँका) खुस्कियो थियो ।
त्यसपछि पुनः अस्पताल गएका उनको त्यस अस्पतालले मागेको शुल्क तिर्न नसके पछि आफू नेपाल फकिएको उनले जानकारी दिए ।
उनले भने–‘उनीहरुले फेरी मेरो घाउ सिलाउन मानेन् । र जति पैसा मागेका थिए त्यति पैसाले त नेपाल फर्कन पुग्ने भएकाले म उपचार गर्न घर आएको हुँ ।’
पहिला पनि साथिहरुको सहयोगमा उपचार गरेकोले थप उपचार गर्ने पैसा नभएको र कम्पनीमा लिने बिदा समेत सकिएकोले आफू थप उपचार गरेर जीवन बचाउन नेपाल फर्किएको उनले जानकारी दिए ।
मलेसियामा आफ्नो जीवनको कुनै ग्यारेन्टी नदेखेर उपचार गरेर बाँच्ने आशामा चैत १० गते घर आईपुगेका उनले आफ्नो उपचारमा सहयोग गर्न सबैलाई सहयोगको याचना गरेका छन् ।
घरको आर्थिक अबस्था ज्यादै कमजोर भएका कारण शरिको आलो घाउ बोकेर कष्टपूर्ण तरिकाले धनकुटा अस्पताल आएका उनले डाक्टरले सुबिधा सम्पन्न अस्पतालमा जान सल्लाह दिएको बताए तर साथमा पैसा नहुँदा पेटमा चिरिएर पाकिरहेको घाउ बोकी लाचार भएर बस्नुपरेको उनले दुखेसो गरे ।
आर्थिक अबस्था कमजोर भएका बिसनलाई उपचारमा सहयोग गरेर उनको जीवन रक्षा गरिदिनका लागि वडा अध्यक्ष रसबहादुर राईले समेत सबैलाई अपिल गरेका छन् ।


