धनकुटाको चौबिसे मुक्तारामा खानेपानीको समस्या बढ्दै
पबित्रा राना/चौबिसे धनकुटा,१७ चैत । धनकुटाको चौबीसे गाउपालिका वडा नं.१ स्थित ठूलो मुक्तारामा खानेपानीको समस्या बढ्दै गएपछि स्थानीयले समस्या भोग्नु परेकोछ ।
लामो समयदेखि पानी नपरेका कारण चैत बैशाख महिना सुरु भएसँगै हावाहुरी र चर्को घाम लागेका कारण पानीका मुहानहरु सुकेर सुख्खा भएका छन ।

जसका कारण मुक्ताराका बासिन्दाहरुलाई खानेपानीको समस्या हुँदै गएको स्थानीय महेसकुमार मगरले बताउनु भयो ।
यस ठाउँमा केही समय अघि सम्म प्रसस्त मात्रमा पानीका मुहान हुँदा पिउने पानीको समस्या नभएपनि पछिल्लो समय पानीका मुहान सुक्दै गएका छन् ।
पानीका मुहान वरिपरीका भएका रुखहरु फडानी र बेचबिखन गर्न थालेपछि पानीको मुहान सुक्दै गएको स्थानीय लक्ष्मण मगरले बताउनुभयो ।

मुक्तारामा पछिल्लो समय पानीका मुहान सुक्दै गएपछि टाढाबाट पिउने पानी बोकेर ल्याउनु पर्ने बाध्याता रहेको मगरको भनाई छ ।
यस्तै हो भने आगामी दिनहरुमा पानी खान नपाइने हो कि भन्ने मुक्ताराका बासिन्दाहरु चिन्तित भएको वडा अध्यक्ष देबेन्द्र श्रेष्ठले बताउनु भयो ।
यस ठाउँमा पहिले नै खाने पानी आयोजना सम्पन्न भएकोले थप योजना थप्न नसकिने र मर्मत सम्भार मात्र गर्न सकिने कुरा खाने पानी कार्यालयबाट जानकारी आएको श्रेष्ठले बताउनुभयो ।
निर्माणाधिन रबि राके भेडेटार सडकका कारण यस ठाउँमा ल्याएको दुई÷तीन वटा पानीको मुहानमा असर परेको र यसलाई चाडै मर्मत सम्भार गरेर खानेपानी सुचारु गर्ने प्रयास गरिने श्रेष्ठले जानकारी दिनुभयो ।(प्रशिक्षार्थी पत्रकार)


