धनकुटामा तेस्रो कोप्चे उत्सव हुने
विकास घिमिरे /धनकुटा,२७ चैत । नयाँ बर्ष २०८२ को अवसर पारेर कुनै समय व्यापारीक रुपले धनकुटा मात्र नभएर कोशी पहाडी जिल्लाको केन्द्रको रुपमा रहेको धनकुटाको कोप्चेमा तेस्रो कोप्चे उत्सव हुने भएको छ ।
धनकुटा नगरपालिका–५ स्थित तल्लो कोप्चे र माथिल्लो कोप्चे क्षेत्रको चहलपहल बढाउँन चैत ३१ देखि बैशाख २ गतेसम्म बिहिबारे हटियामा “मौलिकता संरक्षण, पर्यटन प्रवद्धन” भन्ने मुल नाराका साथै उत्सव गर्न लागिएको आयोजकले धनकुटामा पत्रकार संमेलन गर्दै जानकारी गराएको हो ।
३ दशक अघि सम्म धनकुटा मात्र नभए र कोशी पहाडी जिल्लाको व्यापारीक केन्द्र रहेको कोप्चे सडक संजाल विस्तार संगै ओझेलमा रहेको र त्यसको पुन जागरण गर्न कोप्चे उत्सव आयोजना गर्न लागिएको आयोजक संस्थाका सचिव उज्वल कर्मचार्यले जानकारी दिए । कोप्चे क्षेत्र पछिल्लो समय सुनसान बन्दै गएपछि दुइ वर्षअघि बाट पुरानै चहलपहल फर्काउन भन्दै नयाँ वर्षको अवसरमा कोप्चे उत्सव सुरु गरिएको कर्मचार्यले बताए ।
उत्सवमा स्थानीय नेवार र आठपहरियाको मौलिक खाना परिवारसहितका २० वटा स्टल रहने छन् । त्यस्तै, नेवारी र आठपहरिया जातीको सांस्कृतिक नृत्य तथा संगीत प्रस्तुत गर्नुका साथै मनोरञ्जनात्मक खेलहरु खेलाइनेछ । धनकुटाका पुराना तस्वीरहरुको प्रदर्शनी र सन्देशमूलक चलचित्र पनि देखाइने आयोजकले जनाएको छ ।
तीन दिनसम्म चल्ने उत्सवमा करिब १५ हजार मानिसले अवलोकन गर्ने अनुमान गरिएको आयोजकले जनाएको छ । उत्सवमा करिब ९ लाख खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।


