इटहरीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक सहित तीन घाइते
इटहरी । सुनसरीको धरानबाट आउँदै गरेको कार इटहरीको पानीपियामा शनिवार राति दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने कार चालकसहित ३ जना घाइते भएका छन् ।
सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार कोशी लोक मार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–२० पानीपिया जङ्गलमा प्र–०१–०३० च ४६१८ नम्बरको कार आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको हो । धरानबाट इटहरीतर्फ आउँदै गरेको कार अनियन्त्रित भएर राति ११ बजेतिर सडकबाट पूर्वतर्फ रहेको जामुनको रूखमा ठोक्किएर दुर्घटना भएको प्रहरीको भनाइ छ ।
४ जना सवार रहेको कार दुर्घटनामा परेर कारमा सवार इटहरी–१ का ४० वर्षीय विष्णु राउतको मृत्यु भएको जानकारी डीएसपी खतिवडाले दिए ।गम्भीर घाइते भएका राउतलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । उपचारकै क्रममा करिब डेढ घण्टापछि राउतको मृत्यु भएको खतिवडाले बताए । प्रहरीका अनुसार दुर्घटनामा कार चालक सुनसरीको रामधुनी नगरपालिका–७ का ३० वर्षीय विवेक लामा, इटहरी–४ का ४३ वर्षीय गङ्गा बस्नेत र इटहरी–१ का ३१ वर्षीय कल्याण कटुवाल घाइते भएका छन् । सामान्य अवस्थाका घाइतेहरूको बिपीमै उपचार भइरहेको छ ।
सामान्य उपचारपछि कार चालक लामालाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । प्रहरीका अनुसार घटनास्थल इटहरीको तरहरा चोकबाट करिब ७ किलोमिटर उत्तरमा पर्छ । कारको तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी डीएसपी खतिवडाले बताए ।


