मोरङमा बलात्कारपछि बालिकाको हत्या आशंका, काका प्रहरी नियन्त्रणमा
विराटनगर । मोरङको धनपालथान गाउँपालिका–५ बबियामा ७ वर्षीया बालिका आत्तिका सरदारको हत्या भएको अवस्थामा शव फेला परेको छ । बलात्कारपछि हत्या गरिएको आशंका प्रहरीले गरेको छ ।
बाबुआमा भारत गएको बेला हजुरआमासँग बसिरहेकी आत्तिका शुक्रबार राति हराएकी थिइन् । उनी आफ्ना काका अनिष सरदारसँगै सुतेकी थिइन् । शनिबार बिहान घर नजिकैको दुर्गा आधारभूत विद्यालय छेउको बाटोमा उनको शव भेटिएको हो ।
प्रहरीका अनुसार घटनास्थलको अवस्था र शवमा चोटका अंश देखिएको छ । बलात्कार भएको हुनसक्ने प्रारम्भिक अनुमान भए पनि पोस्टमार्टम रिपोर्टपछि मात्र पुष्टि हुने बताइएको छ ।
प्रहरीले बालिकाका काका अनिषलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । उनले मदिरा सेवन गरेको स्वीकार गरे पनि बलात्कार वा हत्या इन्कार गरेका छन् ।
मोरङका एसपी नारायण चिमरिया नेतृत्वमा अनुसन्धान भइरहेको छ । स्थानीयले निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।


