प्रधानाध्यापक कस्तो हुनुपर्छ ?

ध्रुव एलेक्स । प्रधानाध्यापक विद्यालयको प्रमुख हो । जसरी एउटा देशको कायापलट गर्न त्यस देशको कार्यकारी प्रमुख कस्तो छ त्यहि अनुसार त्यस देशको विकास र सम्पन्नता भर पर्छ । नगरप्रमुख दुर्दशी छ भने नगरपालिकामा नवीनता आउछ । वडाअध्यक्ष सिर्जनात्मक छ भने वडामा साना – साना पृथक काम गर्न सक्छ ।

भन्न खोजिएको कुरा के हो भने प्रधानाध्यापक एउटा विद्यालयको प्रमुख मात्र भन्नु सङ्किर्णता हुन सक्छ उ त एउटा समुदायको दर्पण हो , नेतृत्व हो । विद्यालय कस्तो बनाउने भन्ने सन्दर्भ त्यस विद्यालयको प्रधानाध्यापक कस्तो छ भन्नेमा निर्भर रहन्छ । विद्यालय प्रमुख कुशल , योग्य , समाजसँग घुलमिल हुन सक्ने र सबैको आखाँमा बस्न सक्ने हुनुपर्छ । त्यसो हुँदा समुदायको सेन्टिमेन्ट सम्पूर्ण विद्यालयप्रति सकारात्मक हुन्छ र सबैलाई काम गर्न मज्जा हुन्छ । काम गर्न मज्जा भए मात्र विद्यालयको चौतर्फी विकास र प्रगति हुन्छ ।

प्रधानाध्यापक आफ्नो कुर्सिमा बस्दा अरिङ्गालले टोकेर फुलिएको जस्तो भएर बस्नुहुदैन । उसले मुस्कुराउन सक्नुपर्छ । उसलाई देख्दा मात्र पनि शिक्षक , कर्मचारी , विद्यार्थी र अभिभावकमा बेग्लै उर्जा आउनुपर्छ । गौरव महसुस हुनुपर्छ । उसको बोलीमा मौरीको मह हुनुपर्छ । उसँग सबैजना डिस्टान्स मेनटेन गरेर झुम्मिन सक्नुपर्छ । कसैलाई पनि उसको नाम सुन्दा एलर्जी हुनुहुदैन ।

प्रधानाध्यापक समाजको इनसाइक्लोपेडिया बन्न सक्नुपर्छ र मात्र विद्यालयको स्तर र गुणस्तरको गन्ध आउछ नभए त उहीँ हिस्स बुढी खिस्स दाँत हुन्छ । नैतिकवान त नेतृत्वको पहिलो प्राथमिकता हो नै त्यसको अलबा उ निर्णय गर्न सक्ने क्षमता भएको हुनुपर्छ । अलाङटलाङ गर्नेले विद्यालयलाई एउटा स्वरुप दिन कुनै हालतमा सक्दैन । हाम्रो गाउँमा यसो विद्यालयहरु हेर्नुस पारदर्शी हेडमास्टर भएको विद्यालय शिक्षण लगायत अतिरिक्त फाँटहरुमा पारदर्शी नै छन् अपारदर्शी हेडमास्टर भएका विद्यालयहरु गुणस्तर र अतिरिक्त क्रियाकलापहरुमा ओझेलमै छन् । हेड मास्टर ठूलो छहारी बन्न सक्नुपर्छ जहाँ हजारौले शीतलता अनुभूत गरून् ।

हाम्रा कानुनी प्रावधानहरुले प्रधानाध्यापक छनौटलाई त्यति सन्तोषजनक बनाउन सकेका छैनन् । विद्यालय व्यवस्थापन समितिमा यो अधिकार पुर्ण छ । एउटा समितिले प्रधानाध्यापक बनाउनलाई अनेक कुराको मुल्यांकन गरिदिन्छ । नातावाद अझ ससक्त कृपावाद अझ धेरै अनि सूक्ष्म विश्लेषण त अदृष्य राजनीतिक आस्थाका आधारले निक्कै जमाको देखिन्छ । अदृष्य तरिकाले खेल्नु खेलेर बनाएको प्रधानाध्यापक समाजको ऐना बन्न सफल नहुन सक्छ । कतिपय आधारहरु आधारहिन भइदिदा पनि सहि ठाउँमा सहि मान्छे पुर्याउन नसक्नु कानुनी व्यबधानका भन्न नमिल्ने अफ्ठ्याराहरु हुन् ।

प्राथमिक तहका कतिपय शिक्षक माध्यमिक तहका भन्दा चार सौ बीस भइदिन्छन् । यसमा बाह्य अध्ययन , सम्पर्क र सम्बन्ध देखि कुटनैतिक समनव्यको प्रभाव रहेको हुन्छ । तर्क , विश्लेषण र निर्णायक पावरले पनि कतिपय शिक्षकहरुले प्रधानाध्यापकलाई विद्यालयको ढोडको तोक्मा बनाइदिएका छन् तसर्थ तिनीहरु भन्दा मजबुत र अटल अनि अमिट छाप भएको प्रअ समितिले छनौट गर्न नचुक्नु भने चाहि विद्यालयहरुको शैक्षिक मुहार रुपान्तरित हुन्छ भन्नेमा विस्वस्त हुन सकिन्छ ।

अन्यथा उहीँ स्कुल आउने कुर्सीमा बस्ने र जाने भन्दा केही काम हुँदैन । देशभरि यी सन्दर्भहरुलाई केलाउन सके विद्यालयहरुले परिवर्तन हुने आशय देखाउनेछन् । रिजल्टहरुले टार्गेट पोइन्ट चुम्नेछन् । विद्यालय परिवारको बेग्लै इमान हुनेछ । हेपायतीको औलो ठड्याउने मौका मिल्ने छैन । शिक्षामा क्रमिक सुधारको विजारोपण हुन थाल्नेछ त्यसको लागि प्रधानाध्यापक चरित्रवान , अद्भूत ज्ञान भएको हुन नितान्त जरुरी छ । यो ठोकुवाका साथ भन्न कुनै आइतबार पर्खनुपर्दैन ।

प्रधानाध्यापक यति संयम हुनुपर्छ कि आवेगमा आएको अभिभाबकले तेरा आखाँ निकालिदिन्छु भन्यो भने पनि ए पख्नुस न अइले ननिकाल्नुस बरु भोलि भोलि निकाल्नुस भनेर हाँस्न सक्नुपर्छ । लु निकाल त भनेर उठे मात्र विद्यालय रणमैदान हुन सक्छ । विद्यालयमा नानीबाबुहरुका अनेकौ गुनासा आउछन् । फलानो सरले पढाएको बुझिदैन ; फलानो सरले कुटेकोकुटै गर्नुहुन्छ ; फलानो सर कहिल्यै समयमा कक्षा आउनुहुन्न ; फलानो सर जहिल्यै घन्टी नलागि जानुहुन्छ ; फलानो सर जहिल्यै हकार्नु मात्र हुन्छ ; फलानो सरले माया गर्नुहुन्न ; फलानो सर आखाँ तरेको तरै गर्नुहुन्छ आदिइत्यादि ! यी सबै समस्याको सजिलै समाधान खोजेर सिकाइलाई सहज बनाउदै रमाइलो वातावरण सिर्जना गरिदिनसक्ने प्रधानाध्यापकलाई कहाँ त्यति सजिलो छ र ? बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिढ ! वास्तवमा हेडटिचर वहुआयामिक हुनुपर्छ । प्रतिष्ठित हुनुपर्छ । कसैले औलो ठड्याएर ढाडस दिएर मनपरि भनेर बदनामी गरिदिए पनि रातो अनुहार पारेर कुर्सी नछोड्ने ; भिझेको बिरालो झै हुनुहुँदैन । उस्ले आफ्नो दर्ज राख्नुपर्छ । उस्को स्पार्टपनले विद्यालय बनिन्छ ।

विद्यालय बनिनु भनेको देश बनिन सुरु गर्नुको आधारस्तम्भ हो । उ वभरस्मार्ट हुनुहुदैन फेरि डामाडोल हुन्छ । प्रधानाध्यापक त साना – साना समस्यालाई पनि गम्भीर लिन सक्ने र उपाय दिनसक्ने हुनुपर्छ । सबैका प्रश्नहरुको चित्तबुझ्दो जवाफ दिएर काममा फर्काउन सक्नुपर्छ । विद्यालयमा यस्तो प्रधानाध्यापक होस् जसले हरेक दिनलाई नयाँ दिन बनाइदिन सकोस् ।

-पाख्रिबास -४ , धनकुटा

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।