मोरङको लेटाङमा सीटी सफारी दुर्घटना, एक जनाको मृत्यु
मोरंग । मोरङको लेटाङमा मंगलबार दिउँसो सीटी सफारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मदन भण्डारी लोकमार्गअन्तर्गत लेटाङ नगरपालिका–५ मा ‘अनटेस्ट’ सफारी दिउँसो १ः४० बजेतिर दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार दुर्घटनामा परेर सफारीमा सवार रहेका लेटाङ–४ का अन्दाजी ३२ वर्षीय जनम तामाङको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगरको विराट नर्सिङ होम पुर्याएको केहीबेरमै चिकित्सकले मृत घोषित गरेको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालले बताए ।
उनका अनुसार दुर्घटनामा परेर सफारी चालक लेटाङ–४ का ३९ वर्षीय भीषण राईलाई पनि सामान्य घाइते भएका छन् । लेटाङकै एड्भान्स अस्पतालमा उपचारपछि उनलाई प्रहरीले पक्राउ गरेको छ ।दुर्घटनामा परेको सफारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय लेटाङका इन्स्पेक्टर राकेश रेग्मी नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।-बेतना दैनिक


