जंगली च्याउ खाएका दिदी-भाइको मृत्यु, आमा-छोरीको उपचार हुँदै
काठमाडौं । रूकुम पूर्वमा जंगली च्याउ खाएपछि गम्भीर बिरामी भएका दुई जनाको मृत्यु भएको छ ।
रुकुम पूर्वको भुमे गाउँपालिका- ५ सेराबाङकी ७ वर्षीया भाग्यरेखा विक र उनका भाइ ६ वर्षीय योजन विकको मृत्यु भएको हो । भाग्यरेखाको मंगलबार राति पौने १२ बजे दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार क्रममा मृत्यु भएको हो ।
योजनको सोमबार नै मृत्यु भएको थियो । सल्यान अस्पतालमा उपचारकै क्रममा योजनको मृत्यु भएको थियो । च्याउ खाँदा बिरामी परेका उनीहरुकी आमा ३५ वर्षीया रामकुमारी सुनार र दिदी ९ वर्षीया आयुषा विकको उपचार जारी छ ।
बिरामी पर्नुभन्दा तीन दिन अगाडि रामकुमारीले जंगलबाट च्याउ टिपेर ल्याएकी थिइन्। च्याउ पकाएर खाएको तीन दिनपछि परिवारका चारै जना गम्भीर बिरामी परेका थिए।


