धनकुटाको निगालेमा यातायात व्यवस्था कार्यालय स्थापना गर्न माग
धनकुटा,४ भदौ । धनकुटा नगरपालिका वडा नं. ३ कागतेमा रहेको यातायत व्यवस्था कार्यालयलाई निगालेको राम मन्दिर आसपासमा स्थापना गर्नु पर्ने स्थानियले माग गरेका छन् ।
यातायात व्यवस्था कार्यालयलाई स्थायी रुपमा निगाले क्षेत्रको राजमार्ग आसपासमा स्थापना गर्नु पर्ने भन्दै आज स्थानियले धनकुटा पालिकामा ध्यानकर्षण सहित माग गरेका हुन् ।
देव्रेबासमा रहेको यातायात कार्यालय सार्ने समयमा समेत आफूहरुले स्थायी रुपमा निगालेमा कार्यलय हुनु पर्छ भन्ने माग राख्दै कागतेमा अस्थाइ रुपमा कार्यालय स्थापना गर्न सहमती जनाएको भन्दै स्थानियले अब भने निगालेको राममन्दिर आसपासमा कार्यालय रहनु पर्ने धनकुटा नगरपालिका वडा नम्बर ३ का माथिल्लो क्षेत्रका र धनकुटा नगरपालिका वडा नम्बर १ को तल्लो क्षेत्रका स्थानियको माग रहेको र त्यस माग बारे नगर प्रमुख चिन्तन तामागलाई जानकारी सहित ध्यानाकर्षण गरिएको स्थानिय पर्शूराम मल्ल ठकुरीले बताउनु भयो ।
अन्य स्थानमा त्यसै पनि विकास हुदै गएको हुदाँ बिकेन्द्रिकरणको सिद्धान्त अनुसार पनि निगालेमा यातायात कार्यालय रहनु पर्ने मल्ल ठकुरीको भनाई थियो । यता धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामागले भने सबै पक्षबाट कार्यालय आफ्नो आफ्नो क्षेत्रमा स्थापना गर्नु पर्ने कुरा आइ रहेकोले सहमतीबाट यसको हल गर्नु पर्ने बताउनु भयो ।


