एसिया कप क्रिकेट : पाकिस्तान सुपर ४ मा, फेरि भारतसँग भिड्ने
काठमाडौ । पाकिस्तान एसिया कप २०२५ को सुपर ४ मा छनोट भएको छ । बुधबार राति आफ्नो अन्तिम लिग खेलमा यूएईलाई ४१ रनले हराउँदै पाकिस्तानले सुपर ४ मा स्थान बनाएको हो ।
दुबई अन्तर्राष्ट्रिय रंगशालामा १४७ रनको लक्ष्य पछ्याएको यूएई १७.५ ओभरमा १०५ रनमा अलआउट भयो । राहुल चोपडाले सर्वाधिक ३५ रन बनाए । शाहिन शाह अफ्रिदी, हरिस रौफ र अबरार अहमदले दुई-दुई विकेट लिए ।
युएईका कप्तान मोहम्मद वसीमले टस जितेर बलिङ रोजेका थिए । पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १४६ रन बनायो । शाहिन शाह अफ्रिदीले १४ बलमा अविजित २९ रन बनाए। फखर जमानले ५० रन, कप्तान सलमान आघाले २० रन र विकेटकिपर मोहम्मद हरिसले १८ रन योगदान दिए । यूएईका जुनैद सिद्दिकीले ४ विकेट लिए । सिमरनजीत सिंहले ३ विकेट लिए ।
बुधबार राति भएको खेलमा रेफ्रीसँगको विवादका कारण पाकिस्तानले प्रतियोगिता बहिष्कार गर्ने चर्चा चलेको थियो । तर अन्तिम समयमा पाकिस्तानी टोली मैदान पुगेपछि खेल निर्धारित समयभन्दा करिब १ घण्टा ढिला शुरू भएको थियो ।
पाकिस्तानले भारत विरुद्धको खेलमा भारतीय खेलाडीले खेलभावना विपरीत हात नमिलाउँदा पनि रेफ्रीले कारबाही नगरेको भन्दै उनीहरूलाई प्रतियोगिताबाट हटाउन माग गरेको थियो । तर, आइसीसीको दबाबपछि पाकिस्तान खेलमा फर्किएको हो ।
सुपर ४ मा ५नोट भएसँगै भारत र पाकिस्तान फेरि भिड्ने भएका छन् । सुपर ४ चरणमा पाकिस्तानको अर्को खेल सेप्टेम्बर २१ मा भारतसँग हुनेछ । समूह चरणमा भारतले पाकिस्तानलाई सजिलै ७ विकेटले पराजित गरेको थियो । खेलपछि र टसको समयमा, भारतीय कप्तान सूर्यकुमार यादवले पाकिस्तानी कप्तान सलमान अली आघासँग हात मिलाउन अस्वीकार गरेका थिए ।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले हात मिलाउन अस्वीकार गर्नुलाई खेलको भावना विरुद्धको बताएको छ। बोर्डले आईसीसीबाट म्याच रेफ्री एन्डी पाइक्रफ्टलाई हटाउन पनि माग गरेको छ, तर आईसीसीले यो अनुरोध अस्वीकार गरेको छ ।
भारत र पाकिस्तान सुपर फोरमा पुगेपछि, समूह ए का बाँकी दुई टोलीहरू ओमान र युएई प्रतियोगिताबाट बाहिरिए । यूएईले तीन खेलमध्ये एउटा मात्र जित्यो । ओमानले दुई खेल हार्यो र अन्तिम खेल सेप्टेम्बर १९ मा भारतविरुद्ध हुनेछ।


