वौद्धिकताको सैद्धान्तिक प्रतिमान र नेपालको राजनीतिक यात्रामा यसको गहन विश्लेषण

राजेन्द्र प्रसाद धमला । वौद्धिकताको सैद्धान्तिक प्रतिमान कुनै पनि देशको राजनीतिको अध्ययनका लागि आधार वन्‍ने गर्दछ।वौद्धिकतालाई परम्परागत रूपमा केवल तार्किक क्षमता (IQ) मा सीमित गरेर हेर्ने गरिएको थियो।यो संकीर्ण दृष्टिकोणले राजनीतिको जटिल र बहुआयामिक क्षेत्रलाई बुझ्न पर्याप्त हुँदैन। राजनीतिक घटनाक्रम, विशेषगरी द्वन्द्व र रूपान्तरणको प्रक्रियामा, नेतृत्वको सफलता वा असफलता विशुद्ध तार्किक क्षमतामा मात्र निर्भर नभई उनीहरूको संवेगात्मक, अन्तरव्यक्तिगत र व्यावहारिक क्षमताहरूमा पनि निर्भर हुन्छ।त्यसैले, राजनीतिक जटिलताहरूलाई सही ढंगले बुझ्नका लागि वौद्धिकताको बहु-आयामिकता (Multidimensionality) तर्फको परिवर्तन अनिवार्य मानिन्छ।यस लेखमा विशेषगरी हावर्ड गार्डनरको बहुवौद्धिकता(Multiple Intelligences-MI) र डेनियल गोलम्यानको संवेगात्मक वौद्धिकता (Emotional Intelligence-EQ) को ढाँचा प्रयोग गरी नेपालको राजनीतिक विकासक्रमको विश्लेषण प्रस्तुत गरिएको छ।

(लेखक)

गार्डनरले नौ प्रकारका वौद्धिकता पहिचान गरेका छन्, जसको राजनीतिक अन्तरक्रिया नेपालको सन्दर्भमा यसरी उल्लेख गर्न सकिन्छ।

१. भाषिक वौद्धिकता (Linguistic Intelligence): यसले शब्दको प्रभावकारी उपयोग र भाषिक बुझाइ मापन गर्दछ । नेपालमा यसको प्रयोग नेताहरूको वक्तित्वकला, घोषणापत्र निर्माण, र राजनीतिक आन्दोलनको वैचारिक आधारशिला (Ideological foundation) तयार गर्नमा भएको छ।

२. तार्किक-गणितीय वौद्धिकता (Logical-Mathematical Intelligence): यो वौद्धिकता समस्या समाधान गर्ने, ढाँचा पहिचान गर्ने, र अमूर्त सोच (Abstract thought) मा केन्द्रित हुन्छ। नेपालमा सैन्य रणनीतिहरू, राजनीतिक गठबन्धनहरूको तार्किक संरचना, र पछि आर्थिक तथा नीतिगत योजनाहरू निर्माणमा यसको आवश्यकता पर्दछ।

३. दृश्य-स्थानिक वौद्धिकता (Visual-Spatial Intelligence): यसले नक्सा, स्थान, र दृश्य रूपहरू बुझ्ने क्षमतालाई जनाउँछ।नेपालमा, विशेषगरी माओवादी जनयुद्ध का क्रममा गुरिल्ला युद्धको सफल परिचालन र भूमिगत रणनीतिहरू बनाउन यो क्षमता निर्णायक भएको थियो।

४. शारीरिक-गतिशील वौद्धिकता (Bodily-Kinesthetic Intelligence): शारीरिक समन्वय र शरीरको प्रयोगको कौशल, सशस्त्र विद्रोहको शारीरिक पक्ष(लामो यात्रा, परिचालन) र आन्दोलनको क्रममा नेतृत्वको भौतिक सहभागितामा यसको भूमिका देखिन्छ।

५. अन्तरव्यक्तिगत वौद्धिकता (Interpersonal Intelligence): यो क्षमता अरूको भावना, मनसाय, र चाहना बुझ्ने तथा सम्बन्धहरूलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्ने क्षमता हो ।पार्टी एकता कायम राख्ने, वार्तालाप गर्ने र कूटनीति सञ्चालन गर्ने कार्यहरू यसै वौद्धिकता अन्तर्गत पर्दछन्।

६. आत्मपरक वौद्धिकता (Intrapersonal Intelligence): आत्म-सजगता (Self-awareness), आत्म-मूल्याङ्कन, र आन्तरिक भावनाहरू बुझ्ने क्षमता।यो नेताहरूको नैतिक अडान र दीर्घकालीन दर्शन निर्माणका लागि महत्त्वपूर्ण हुन्छ।

७. अन्य प्रकारहरू: साङ्गीतिक वौद्धिकता (Musical Intelligence), प्राकृतिक वौद्धिकता (Naturalist Intelligence), र अस्तित्वसम्बन्धी वौद्धिकता (Existential Intelligence) पनि वैचारिक आन्दोलनहरू (Revolutionary Movements) मा वैचारिक गहिराई र भावनात्मक अपील सिर्जना गर्न सहायक हुन सक्छन् ।

गार्डनरको सिद्धान्तमा, तरल बुद्धि(Fluid intelligence) जस्ता अवधारणाहरू समावेश हुँदैनन्।नेपालको सन्दर्भमा, यो विश्लेषण गर्न सकिन्छ कि राजनीतिक नेतृत्वले द्वन्द्वकालमा विशेषगरी भाषिक, स्थानिक, र शारीरिक-गतिशील वौद्धिकतामा विशेषज्ञता हासिल गरेको थियो।गुरिल्ला युद्धनीति को सफल कार्यान्वयनका लागि यी सीपहरू अत्यावश्यक पनि थिए ।स्थानिक वौद्धिकताले भूभागको उपयोग गर्‍यो र शारीरिक-गतिशील वौद्धिकताले लामो परिचालन धान्यो।यसरी,राजनीतिक संस्कृतिमा वैचारिक शुद्धता (Linguistic) र शारीरिक क्षमता (Kinesthetic) लाई उच्च महत्त्व दिने प्रवृत्ति विकसित भयो। यद्यपि, राज्य पुर्नसंचना र सुशासनका लागि आवश्यक तार्किक-गणितीय वौद्धिकता (प्रणालीगत योजना, नीति निर्माण) लाई गौण बनाइयो। द्वन्द्वमा सफल क्रान्तिकारी नेताहरूले युद्धको नेतृत्व गर्न आवश्यक संज्ञानात्मक सीपहरूबाट राज्यको नेतृत्व गर्न आवश्यक सीपहरूमा परिवर्तन गर्न सकेनन्, जसले शान्तिपछिको सुशासनमा ठूलो चुनौती ल्यायो।फलतः Zen Z जस्ता आन्दोलन आउनुपर्‍यो।

अब गार्डनरको बहुवौद्धिकता सिद्धान्त र नेपाली राजनीतिक यात्रामा त्यसको विश्लेषणात्मक अनुप्रयोग टेवलमा गरौ।

 

वौद्धिकताको प्रकार राजनीतिक परिचालनमा भूमिका नेपालको सन्दर्भमा प्रभाव
भाषिक (Linguistic) वैचारिक परिचालन, घोषणापत्र, वक्तृत्वकला क्रान्तिकारी अपीलमा सफलता, तर पछि नीतिगत अस्पष्टतामा प्रयोग
तार्किक-गणितीय (Logical-Mathematical) सैन्य योजना, गठबन्धनको संरचना, नीति निर्माण द्वन्द्वमा कम प्रयोग, सुशासन र आर्थिक योजनामा लगातार असफलता
दृश्य-स्थानिक(Visual Spatial) भूभागको उपयोग, गुरिल्ला युद्धनीति माओवादी जनयुद्धको रणनीतिक सफलतामा निर्णायक
अन्तरव्यक्तिगत (Interpersonal) पार्टी एकता, वार्तालाप शान्ति वार्ताको सफलता, तर गुटबन्दीमा दुरुपयोग
शारीरिक-गतिशील (Bodily-Kinesthetic) सशस्त्र विद्रोह, आन्दोलनको भौतिक सहभागिता द्वन्द्वकालमा अति आवश्यक, शान्तिपछि कम प्रासंगिक

अब अर्का दार्शनिक डेनियल गोलम्यानको संवेगात्मक वौद्धिकता (EQ) ले आफ्ना र अरूका भावनाहरू पहिचान गर्ने, बुझ्ने, र प्रभावकारी रूपमा व्यवस्थापन गर्ने क्षमतालाई जनाउँछ।राजनीतिक नेतृत्वमा उच्च EQ ले कार्यस्थल संस्कृतिलाई सुधार गर्न, परिणाम प्राप्त गर्न, र लक्ष्यहरू पूरा गर्न मद्दत गर्दछ ।

गोलम्यानको EQ सिद्धान्तले पाँच मुख्य घटकहरूलाई गहन रूपमा विश्लेषण गर्दछ:

१. आत्म-सजगता (Self-Awareness): यो आफ्ना भावनाहरू, शक्तिहरू, कमजोरीहरू, र अरूमा उनीहरूको प्रभावलाई बुझ्ने क्षमता हो ।राजनीतिक नेतृत्वको आत्म-आलोचनात्मक क्षमता यसैमा निर्भर गर्दछ।

२. आत्म-नियमन (Self-Regulation): यो आवेगहरू र विघटनकारी भावनाहरू नियन्त्रण गर्ने क्षमता हो । राजनीतिक धिरता, स्थिरता, र नैतिक अडानका लागि यो आवश्यक छ।

३. अभिप्रेरणा (Motivation): यसले आन्तरिक रूपमा परिणाम र उपलब्धिप्रति समर्पित हुने अवस्थालाई जनाउँछ, जहाँ प्रेरणा पैसा वा पदभन्दा माथि हुन्छ, र कामको आनन्दबाट आउँछ।

४. समानुभूति (Empathy): अरूको भावना बुझ्ने, उनीहरूसँग सम्बन्धित हुने, र सबै दृष्टिकोणबाट समस्या हेर्न सक्ने क्षमता।द्वन्द्वपीडितको मुद्दा सम्बोधन र समावेशी निर्णयका लागि समानुभूति महत्त्वपूर्ण छ।

५. सामाजिक कौशल (Social Skills/Relationship Management): यसले सम्बन्ध निर्माण, नेतृत्व, र प्रभावकारी रूपमा समूहमा काम गर्ने क्षमता समावेश गर्दछ।यसले ‘मित्रवत हुनुभन्दा बढी’ कुरा समेट्छ ।

पछि, गोलम्यानले यो मोडेललाई चार डोमेन (Self-awareness, Social awareness, Self-management, Relationship management) मा पनि विकसित गरेका छन् ।

EQ Theory र नेपालको संकट व्यवस्थापनको सन्तुलन

संकटको अवस्था, जस्तै विस्तृत शान्ति सम्झौता (CPA) को वार्तालाप मा EQ को आवश्यकता उच्चतम थियो। द्वन्द्व समाधानमा संलग्न नेताहरूले तत्कालको आवश्यकता अनुसार ‘समानुभूति’ र ‘सामाजिक कौशल’ जस्ता अन्तरव्यक्तिगत क्षमताहरूलाई सक्रिय पार्न सफल भए।यसले गर्दा एक दशकको द्वन्द्वलाई पछाडि पार्दै २0६३ मंसिर ५ को विस्तृत शान्ती सम्झौता सम्भव भयो।

तर, शान्ति प्रक्रिया सफल भए पनि पछिको राजनीतिक अस्थिरताले EQ को अर्को पक्षमा कमजोरी देखायो। राजनीतिक नेतृत्वमा ‘आत्म-नियमन’ (Self-Regulation) को कमी स्पष्ट भयो, जसका कारण दलहरूले छोटो अवधिको राजनीतिक लाभ र प्राप्त अधिकारको दुरुपयोग गरे।आन्तरिक प्रेरणा (Internal Motivation) को सट्टा बाह्य शक्ति र लाभमा ध्यान केन्द्रित हुँदा, सुशासन स्थापना गर्ने दीर्घकालीन कार्यमा ध्यान पुग्न नसकेका कारण भाद्र २३ र २४ को आन्दोलन निम्तियो भन्‍न सकिन्छ।यसले नेपाली राजनीतिको वृतचित्रमा EQ को सन्तुलित अनुप्रयोगको असफलतालाई उजागर गर्दछ।

नेपालको राजीतिमा द्वन्द्वपूर्वको बौद्धिक असफलता र राजनीतिको नैतिक विघटनलाई नियाल्दा २०४६ सालपछि स्थापित संसदीय प्रणालीमा अन्तरव्यक्तिगत (Interpersonal) वौद्धिकताको दुरुपयोग भयो। यो वौद्धिकता सम्बन्धहरू निर्माणमा केन्द्रित हुनुको सट्टा व्यक्तिगत लाभ र गुटबन्दीलाई बलियो बनाउन प्रयोग भयो। सत्तासीन दलका नेताहरूमा ग्रामीण समाजको गहिरो समस्या बुझ्ने समानुभूति (Empathy) को स्पष्ट अभाव थियो। नागरिकको दुःखलाई बुझ्न नसक्दा, राजनीतिक वर्ग र जनताबीचको दूरी बढ्यो, जसले माओवादीलाई आफ्नो आन्दोलनका लागि वैचारिक र सामाजिक आधार तयार गर्ने मौका दियो।यो EQ को असफलताले जनयुद्धको उदयलाई बल पुर्‍याएको थियो हालको आन्दोलन पनि यसकै उपज हो भन्‍न सकिन्छ।

नेपाली जनयुद्ध सशस्त्र द्वन्द्व थियो, जुन 2052 फागुन १ मा सुरु भई सन् २०६३ मंसिर ५ मा विस्तृत शान्ति सम्झौतामार्फत औपचारिक रूपमा समाप्त भयो । रणनीतिक बौद्धिकताको प्रयोग माओवादी पक्षबाट ‘गुरिल्ला युद्धनीति’ को सफल प्रयोग भयो।यो सफलता उच्च स्थानिक वौद्धिकता (Spatial Intelligence) मा आधारित थियो। यसले स्थान र भूभाग (विशेषगरी पहाडी क्षेत्र) को उपयोगलाई अधिकतम बनायो। साथै, लामो समयसम्म कठिन परिस्थितिमा शारीरिक सङ्घर्ष जारी राख्नका लागि शारीरिक-गतिशील वौद्धिकता (Bodily-Kinesthetic Intelligence) निर्णायक भयो।यस अवधिमा नेताहरूले भाषिक वौद्धिकता (Linguistic Intelligence) को उच्च प्रयोग गरे। ‘नयाँ जनवादी राज्य’ को भाषिक अपील तयार गरी ग्रामीण र सीमान्तकृत समूदायलाई परिचालन गरियो।जसमा राजतन्त्रको बौद्धिक असफलता देखियो। राजा ज्ञानेन्द्रको शासनकालमा शाही नेतृत्वमा आत्म-सजगता (Self-Awareness) र सामाजिक कौशलको पूर्ण अभाव देखियो। जनता र राजनीतिक दलहरूको मनोभाव बुझ्न नसक्दा शाही कदमहरू आत्मघाती बने, जसले गर्दा द्वन्द्व झन् जटिल बन्यो र राजतन्त्रको अन्त्य निश्चित भयो ।

अब गणतन्त्रको संस्थागतकरणमा बौद्धिक चुनौतीहरूतर नियाल्दा नेपालले क्रान्ति र शान्ति सम्झौता (जहाँ उच्च MI/EQ प्रयोग भयो) मा सफलता हासिल गरे पनि, संवैधानिक व्यवस्थापनको चरणमा प्रवेश गर्दा बौद्धिक असन्तुलनको समस्या देखियो। राज्यको पुनर्संरचना, संविधान निर्माण, र संस्थागत प्रणाली व्यवस्थापनका लागि आवश्यक तार्किक-गणितीय वौद्धिकता (Logical-Mathematical MI) र आत्म-नियमन (Self-Regulation) कमजोर साबित भए।पहिलो संविधानसभाको विघटनमा देखिएको राजनीतिक हठ, दलहरूको निरन्तर विभाजन र गुटगत स्वार्थले राजनीतिक नेतृत्वमा आत्म-नियमन (Impulse control) को गम्भीर कमी भएको संकेत गर्दछ।

नेपालको राजनीतिमा विगत देखि हालसम्म वौद्धिकताको असन्तुलन र शासनको अभाव रहेको देखिन्छ।नेपालको राजनीतिक नेतृत्वले ‘संघर्षको वौद्धिकता’ (Conflict Intelligence) लाई ‘सुशासनको वौद्धिकता’ (Governance Intelligence) मा रूपान्तरण गर्न सकेन।संघर्षको वौद्धिकताले उच्च शारीरिक, स्थानिक र भाषिक क्षमताको माग गर्दछ। यसको विपरीत, सुशासनको वौद्धिकतालाई उच्च तार्किक-गणितीय क्षमता (प्रणालीगत सोच) र आत्म-नियमन (नैतिक स्थिरता) चाहिन्छ।

राज्यलाई अस्थिर बनाउन र आन्दोलनलाई सफल पार्न आवश्यक पर्ने क्षमताहरू राज्य निर्माण र स्थायित्वका लागि आवश्यक पर्ने क्षमताहरूभन्दा पूर्णरूपमा फरक हुन्छन्। नेतृत्वले नीतिगत योजना र प्रणालीगत व्यवस्थापनका लागि आवश्यक तार्किक-गणितीय क्षमतामाथि ध्यान दिनुको सट्टा राजनीतिक शक्ति समीकरणका लागि भाषिक बयानबाजी र अन्तरव्यक्तिगत हेरफेरमा निरन्तर ध्यान केन्द्रित गर्‍यो। यो संज्ञानात्मक असामञ्जस्य (Cognitive mismatch) नेपालको निरन्तर राजनीतिक अस्थिरताको मूल कारण हो।

यसैगरी, शान्ति प्रक्रियामा समानुभूति (Empathy) को प्रयोगले नेताहरूलाई द्वन्द्व अन्त्य गर्न सहयोग गरे पनि, व्यवहारिक रूपमा द्वन्द्वपीडितको न्यायका लागि पर्याप्त आन्तरिक अभिप्रेरणा (Internal Motivation) को कमी देखियो, जसले संक्रमणकालीन न्याय प्रक्रियालाई लम्ब्यायो र पीडितहरूमा निराशा बढायो।यसको उत्तर अझैपनि नेपालको राजनीतिले दिन सकेको छैन।

नेपालको राजनीतिमा भाषिक वौद्धिकताको प्रयोग उच्च स्तरमा भएको छ। माओवादी नेताहरूले क्रान्तिकारी विचारलाई सरल र पहुँचयोग्य शैलीमा प्रस्तुत गरेर ग्रामीण जनतालाई परिचालन गरे। यसमा ‘विचारशील लेखन’ (Thoughtful writing) र सशक्त व्याक्तित्वकलाको महत्त्वपूर्ण भूमिका रह्यो। तर, संसदीय राजनीतिमा यस भाषिक कौशलको उपयोग नकारात्मक दिशामा मोडिएको देखिन्छ। नीतिगत अस्पष्टता र असफलतालाई ढाक्न, दलहरूले भाषिक वाकपटुता (Rhetoric) र आकर्षक तर खोक्रा नाराहरूको प्रयोग गरे। विश्लेषणले यो देखाउँछ कि नेपालको राजनीतिमा ‘भाषिक वौद्धिकता’ उच्च भए पनि, यसको प्रयोग प्रायः अल्पकालीन राजनीतिक लाभ हासिल गर्न, भ्रम सिर्जना गर्न, र जनमतलाई छोटो अवधिका लागि आकर्षित गर्नमा मात्र सीमित भएको छ। यसले पारदर्शिता र जवाफदेहीतामा कमी ल्यायो।

माओवादीले देशको भौगोलिक विविधता (पहाडी भूभाग र सघन जंगल) लाई आफ्नो सैन्य लाभका लागि कसरी प्रयोग गरे, जुन उच्च स्थानिक वौद्धिकताको प्रमाण हो।यो क्षमताले उनीहरूलाई भूमिगत सञ्जाल र गुरिल्ला युद्धनीतिमा सफल बनायो।

शान्ति प्रक्रियापछि, देशको राजनीति जटिल, बहु-दलीय गठबन्धनहरूको निर्माण र विघटनमा केन्द्रित भयो। यो राजनीतिक समीकरण सन्तुलन गर्ने क्षमता, जसमा ‘तार्किक-गणितीय वौद्धिकता’ (Logical-Mathematical Intelligence) निहित हुन्छ, मुख्यतया शून्य-योग (Zero-sum) खेलमा प्रयोग हुन्छ। अर्थात, एकको लाभ अर्काको हानिमा आधारित। सुशासनका लागि आवश्यक सामूहिक लाभको तार्किक सोच (Positive-sum logic) विकास हुन सकेन, जसले गर्दा प्रणालीगत सुधार र दीर्घकालीन योजनाहरू पछाडि परे।नेपाली राजनीतिक नेतृत्वमा देखिएको असहिष्णुता, हतारमा निर्णय लिने प्रवृत्ति (Impulsive action), र भ्रष्टाचार नियन्त्रण गर्न नसक्नु आत्म-नियमनको कमजोरी हो । संवेगात्मक आत्म-नियन्त्रणको अभावले गर्दा संस्थागत स्थायित्वमा बाधा पुग्यो। नेताहरूले आफ्नो आवेग र गुटगत दबाबलाई व्यवस्थापन गर्न सकेनन्, जसले गर्दा पार्टीहरू भित्र र बाहिर निरन्तर अस्थिरता आयो।नेताहरूबीचको व्यक्तिगत सम्बन्ध (जुन सामाजिक कौशल हो) ले ठूला राजनीतिक संकटहरू टार्न मद्दत गरे पनि, यसले संस्थागत प्रणाली र प्रक्रियाहरूलाई बाइपास गर्ने राजनीतिक संस्कृतिलाई जन्म दियो। यसरी, व्यक्तिगत सम्बन्धको शक्ति प्रणालीको शक्तिभन्दा ठूलो हुन पुग्यो।

गोलम्यानको संवेगात्मक वौद्धिकता (EQ) का तत्वहरू र नेपालको राजनीतिक द्वन्द्व चक्रमा परेको भूमिका टेवलमा हेरौः-

 

EQ तत्व द्वन्द्वकालमा प्रयोग शान्तिपछिको चुनौती परिणाम
आत्म-सजगता (Self-Awareness) क्रान्तिकारी नेताहरूले शक्ति र सीमा बुझे नेतृत्वले आफ्नो कमजोरी स्वीकार गर्न नसक्नु निरन्तर असफलता र गुटबन्दी
आत्म-नियमन (Self-Regulation) द्वन्द्वमा नियन्त्रित रणनीतिक धिरता आवेगपूर्ण निर्णय, भ्रष्टाचार नियन्त्रणमा असफलता राजनीतिक अस्थिरता
अभिप्रेरणा (Motivation) वैचारिक रूपमा प्रेरित, जोखिम मोल्ने क्षमता आन्तरिकको सट्टा बाह्य लाभ (पद, पैसा) मा केन्द्रित दीर्घकालीन सुशासनमा ध्यान अभाव
समानुभूति (Empathy) शान्ति वार्तामा समन्वय द्वन्द्वपीडितको न्यायमा उदासीनता संक्रमणकालीन न्यायमा ढिलाई
सामाजिक कौशल (Social Skills) गठबन्धन र कूटनीतिक सफलता संस्थागत प्रणाली बाइपास गर्ने व्यक्तिगत सम्बन्धको विकास प्रणालीगत कमजोरी

 

गोलम्यानको सिद्धान्त अनुसार नेपाली राजनीतिमा वौद्धिकताको असफलता र अविश्वासको संस्कृतिले जरा गाडेको देखिन्छ, उच्च नेतृत्वमा प्रेरणा (Motivation) आन्तरिक हुनुपर्छ, जुन सत्ता वा पैसाभन्दा माथि उठेर उपलब्धि र आनन्दका लागि समर्पित हुन्छ। नेपालका अधिकांश नेताहरूको प्रेरणा बाह्य (External) कारकहरू जस्तै सत्ता, गुटको स्वार्थ, र व्यक्तिगत लाभद्वारा निर्देशित देखिन्छ।जब प्रेरणा बाह्य हुन्छ, आत्म-नियमन असफल हुन्छ, जसले नीतिगत निर्णयहरूलाई दीर्घकालीन हितको सट्टा छोटो अवधिको राजनीतिक लाभमा आधारित बनाउँछ। यो नै कम EQ को स्पष्ट प्रमाण हो, जसले निरन्तर भ्रष्टाचार र अस्थिरताको चक्रलाई निरन्तरता दिएको छ। राजनीतिक नेतृत्वमा संवेगात्मक वौद्धिकताको न्यूनताले नागरिकहरूमा ‘अविश्वासको संस्कृति’ (Culture of Distrust) लाई बढावा दिन्छ। यदि नेताहरूले समानुभूति (Empathy) र सामाजिक कौशल (जसमा पारदर्शिता, आत्म-व्यवस्थापनको एक योग्यताको रूपमा पनि समावेश छ) प्रदर्शन गर्न सकेनन् भने, लोकतान्त्रिक संस्थाहरूमाथिको जनविश्वास घट्दै जान्छ।

नेपालमा संविधान जारी भएपछि संघीयता कार्यान्वयनको जटिल चुनौती आयो। यो चरणमा उच्च तार्किक-गणितीय वौद्धिकताको आवश्यकता थियो ताकि स्रोत वितरण, अधिकारको बाँडफाँड, र प्रशासनिक संरचनालाई प्रभावकारी रूपमा समाधान गर्न सकियोस्। तर, नेतृत्वले प्रणालीगत सोच प्रयोग गर्नुको सट्टा, अन्तरव्यक्तिगत वौद्धिकताको प्रयोगलाई (भागबन्डा) मा मात्र ध्यान केन्द्रित गर्‍यो, जसले संघीयताको कार्यान्वयनलाई ढिलो र अव्यवस्थित बनायो भन्‍न सकिन्छ।

सरमा भन्‍नु पर्दा, नेपालमा राजनीतिक नेतृत्व विकासका लागि विशिष्ट प्रशिक्षणको आवश्यकता देखिन्छ।जसरी न्यूरोलोजिस्ट प्रशिक्षण लिँदा विशिष्ट बुद्धि अधिक विकसित हुन्छ,त्यसरी नै राजनीतिक नेतृत्वका लागि तार्किक, संवेगात्मक, र प्रणालीगत सोचको विकासका लागि विशेष मोड्यूलहरूको तालिम मार्फत प्रयोग गर्नु आबश्यक देखिएको छ।नेपालले अब ‘संकट समाधान IQ’ बाट ‘दिगो शासन EQ’ मा जान आवश्यक छ।यो रूपान्तरण गर्नका लागि नेतृत्वले आफ्ना कमजोरीहरू पहिचान गर्ने आत्म-सजगता र विपक्षी तथा नागरिकको दृष्टिकोण बुझ्ने समानुभूतिको संस्थागत अभ्यास गर्नुपर्छ।

दीर्घकालीन रणनीतिक स्थायित्वका लागि, रचनात्मक तनावको व्यवस्थापन गर्न ‘संवेगात्मक आत्म-नियन्त्रण’ (Emotional Self-Control) र ‘सहयोग’ (Teamwork & Collaboration) लाई प्रमुख बौद्धिक क्षमताको रूपमा स्थापित गर्नु आवश्यक छ ।

हालको समस्या समाधान गर्दै शान्ति प्रक्रियाको सफलतालाई दिगो बनाउनका लागि राजनीतिक दलहरू र सरकारी कर्मचारीहरूलाई अनिवार्य रूपमा EQ तालिम प्रदान गरिनुपर्छ।संवेगात्मक वौद्धिकता सिक्न सकिने र लागू गर्न सकिने क्षमता भएकाले, यसप्रकारको तालिमले उनीहरूको ‘आत्म-सजगता’ बढाउन र ‘सामाजिक कौशल’ सुधार्न मद्दत गर्छ।आत्म-सजगता बढाउनका लागि रचनात्मक प्रतिक्रिया (Feed back) माग्ने र जर्नल राख्ने अभ्यास गर्न सकिन्छ, जबकि सामाजिक कौशल सुधार्न सक्रिय श्रवण र खुला प्रश्नको अभ्यास गर्न सकिन्छ ।
यसो भन्‍न र गर्न सकिन्छ।नेपालको राजनीतिक यात्रा वौद्धिक रूपमा असन्तुलित रह्यो।माओवादी जनयुद्धको सफल नेतृत्व र शान्ति सम्झौताका लागि आवश्यक ‘संघर्षको वौद्धिकता’ (उच्च स्थानिक, भाषिक, र अन्तरव्यक्तिगत वौद्धिकता) नेतृत्वमा उच्च स्तरमा उपस्थित थियो। यद्यपि, शान्तिपछिको सुशासन र संस्थागत स्थायित्वका लागि आवश्यक ‘सुशासनको वौद्धिकता’ (उच्च तार्किक-गणितीय वौद्धिकता र आत्म-नियमन) को अभाव देखियो।राजनीतिक नेतृत्वमा ‘भाषिक’ र ‘अन्तरव्यक्तिगत’ वौद्धिकताको प्रभुत्व रह्यो, जसले गुटबन्दी र छोटो अवधिको शक्ति हासिल गर्न सहयोग गर्‍यो। तर, दीर्घकालीन स्थायित्वका लागि ‘तार्किक-गणितीय’ वौद्धिकता (नीतिगत विश्लेषण) र ‘आत्म-नियमन’ (नैतिक धिरता) को सन्तुलित विकास अनिवार्य थियो।अब Zen Z माग सम्वोधन गर्दै यसो गरौः-

पहिलो काम- शिक्षा र तालिममा बहुवौद्धिकताको प्रयोग मार्फत राजनीतिक संस्कृतिमा सुधार- भविष्यका नागरिक र नेताहरूमा बहुवौद्धिकताको सन्तुलित विकासका लागि शैक्षिक सुधार अपरिहार्य छ। विश्वविद्यालय र प्रशासनिक प्रशिक्षण केन्द्रहरूमा सामाजिक विज्ञान र राजनीतिशास्त्रका पाठ्यक्रमहरूमा संवेगात्मक र नैतिक वौद्धिकतालाई अभिन्‍न अंगको रूपमा समावेश गरिनुपर्छ। यसले गर्दा भाषिक वा तार्किक वौद्धिकतामा मात्र आधारित नभई, समानुभूति र आत्म-सजगता जस्ता संवेगात्मक क्षमताहरूले सुसज्जित नेतृत्व उत्पादन गर्न सकिन्छ।

दोस्रो काम- नीति निर्माण र नेतृत्व विकासका लागि निम्न ४ प्रकारका विशिष्ट सिफारिस गरी लागु गरौ-
सिफारिस नं. १- EQ केन्द्रित नेता मूल्यांकन (EQ-Focused Leadership Assessment) को विकास- प्रमुख राजनीतिक तथा प्रशासनिक पदका उम्मेदवारहरूका लागि आत्म-सजगता, समानुभूति, र आत्म-नियमन जस्ता संवेगात्मक वौद्धिकताका तत्वहरू मापन गर्ने प्रणालीको विकास गर्नुपर्छ। यसले नेतृत्व छनोटमा क्षमता (IQ) मात्र होइन, चरित्र (EQ) लाई पनि आधार बनाउँछ।
सिफारिस नं. २- रचनात्मक द्वन्द्व व्यवस्थापन तालिमको अनिवार्यता- राजनीतिक दलका नेताहरू र सांसदहरू एंव Zen Z युवाहरुलाई द्वन्द्व व्यवस्थापनका लागि आत्म-नियमन (आवेग नियन्त्रण) र संज्ञानात्मक रिफ्रेमिङ (Cognitive Reframing)सोच ढाँचा र संवेगात्मक प्रतिक्रियाहरू परिवर्तन गर्ने) सीप सिकाउने विशेष तालिम अनिवार्य गरिनुपर्छ ।यसले राजनीतिक संघर्षलाई व्यक्तिगत शत्रुताको सट्टा नीतिगत बहसमा रूपान्तरण गर्न मद्दत गर्दछ।यो नेपालको लागि अत्यावसेक देखिएको छ।
सिफारिस नं. ३- संस्थागत पारदर्शिताको स्थापना- गोलम्यानको मोडेल अन्तर्गत पारदर्शिता (Transparency) लाई आत्म-व्यवस्थापन (Self-Management) अन्तर्गतको एक प्रमुख EQ क्षमता मानिन्छ।राजनीतिक निर्णय प्रक्रियाहरूमा पारदर्शितालाई अनिवार्य कार्यान्वयन गर्नुपर्छ, जसले नेतृत्वमा आत्म-सजगता र जवाफदेहिता बढाउँछ।

सिफारिस नं. ४- सक्रिय श्रवण र खुला प्रश्नको अभ्यास- राजनीतिक गठबन्धन, वार्तालापहरू, संसदीय समितिहरू र Zen Z को छलफलमा सामाजिक कौशल सुधार गर्न ‘सक्रिय श्रवण’ र ‘खुला प्रश्नहरू’ (Open-ended questions) को प्रयोग गर्ने कार्यनीतिलाई संस्थागत गरिनुपर्छ । यसले गर्दा नेताहरूले एकअर्काको धारणालाई साँच्चिकै बुझ्न सक्छन् र प्रभावकारी सम्बन्ध व्यवस्थापनको वातावरण सिर्जना हुन्छ।

लेखक परिचय
इमेल-dhamalaraj98@gmail.com
हाल कार्यरत- शाखा अधिकृत (न्याय सेवा)

अनुभव- लोक सेवाका शाखा अधिकृत,ना.सु.खरिदार लगायत विभिन्‍न सेवाका किताब लेखन, अध्यापन,विभिन्‍न तालिम सेमिनारमा सहजीकरण गर्दै आएको,विभिन्‍न पत्र पत्रिकाहरुमा समय समयमा लेख प्रकाशन भएका।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।