धनकुटा उद्योग वाणिज्य संघद्वारा तिहारमा विस्फोटक पदार्थ विक्रि वितरण नगर्न व्यापारीहरुलाई आग्रह
धनकुटा । उद्योग वाणिज्य संघ धनकुटाले तिहारमा विस्फोटक पदार्थ विक्रि वितरण नगर्न व्यापारीहरु लाई आग्रह गरेको छ ।
संघले दसैं सकिए र नेपालीको दोस्रो ठूलो पर्वको रुपमा रहेको तिहार नजिकिए संगै माग र व्यापार हुने भन्दै अघिल्ला वर्षहरुमा कतिपय व्यापारीहरुले पटक, भूइचम्पा, विभिन्न खालका विस्फोटक पदार्थको समेत विक्रि वितरण गरेको पाइएकोले यस वर्ष त्यस्ता पदार्थ विक्रि वितरण नगर्न आग्रह गरेको उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजयसन्तोषी राईले जानकारी दिए ।
विगतका वर्षहरुमा अवैध रुपमा भित्रिएका यस्ता विस्फोटक पदार्थ विक्रि वितरण गरिएको पाइएकोले यस वर्ष विस्फोटक पदार्थ खरिद विक्रि पूर्ण रोक्न साथै चाडपर्वको अवसरमा उपभोक्तामाथि अन्याय हुने गरी अत्यधिक मूल्य वृद्धि नगरी सर्वसुलभ मूल्यमा सामान बिक्री गर्न समेत आग्रह गरेको छ । संघले बजारमा वस्तु अभाव कृत्रिम रूपमा सिर्जना नगरी उपलब्ध वस्तुहरूको मूल्य सूची अनिवार्य रूपमा राख्न व्यवसायीहरूलाई निर्देशन दिएको समेत जनाएको छ ।
प्लास्टिकजन्य फूल र मालाको आयात–निर्यात तथा बिक्री–वितरण नगर्न र प्राकृतिक उत्पादनको प्रयोगमा प्रोत्साहित गर्न समेत संघको तर्फ बाट आग्रह गरिएको अध्यक्ष राईले बताए । संघले सबै व्यापारी र व्यवसायीलाई स्थानीय प्रशासन र बजार अनुगमन टोलीलाई सहयोग गर्न समेत आग्रह गरेको छ । दसैंमा जस्तै तिहारमा समेत संघको तर्फ बाट आन्तरिक बजार अनुगमन जारी रहने जनाइएको छ ।


