नेपालको विषम राजनीतिक अस्थिरता: नैतिक पतन, भूराजनीतिक चलखेल र नयाँ समाधानको मार्गचित्र
मैया देवी पौडेल धमला । नेपालमा हाल निम्तिएको संकट र संरचनात्मक अस्थिरताको सन्दर्भले वर्तमान राजनीतिक अवस्थालाई केवल सरकारको फेरबदलको नियमित चक्रका रूपमा बुझ्नु सतही हुन्छ। यो परिस्थिति वास्तवमा एक ‘विषम परिस्थिति’ हो, जसले राज्यका सम्पूर्ण संस्थाको नैतिक र कार्यात्मक जगमा गहिरो संकटको संकेत गर्छ।राजनीतिक अस्थिरता अब सरकारको आयुमा मात्र सीमित छैन; यो न्यायपालिका, अख्तियार दुरुपयोग अनुसन्धान आयोग (CIAA) र निर्वाचन आयोग जस्ता संवैधानिक निकायहरूको व्यापक राजनीतिकरण तथा क्षयीकरणमा प्रतिबिम्बित छ।
यो लेखमा वि.सं. २०७२ को संविधान निर्माणपश्चात् देखिएको संस्थागत क्षयीकरण, नैतिक पतन, र वर्तमान भूराजनीतिक दबाबहरूको गहन चिरफार (Dissection) गर्न केन्द्रित छ।यसको लक्ष्य नेपालको राजनीतिक वर्गमा देखिएको वैचारिक शून्यता र नैतिक ऋणलाई उजागर गर्नु हो, जसले गर्दा वर्तमान युवा असन्तुष्टि (Gen Z) देखियो र विदेशी चलखेलका लागि मार्ग प्रशस्त भएको छ। लेखले संरचनागत कमजोरीहरू, जिम्मेवार पात्रहरू, ऐतिहासिक विसंगतिहरू (हालको अन्तरिम सरकार गठन प्रकरण र अन्तरिम संविधानको प्रतिरोध) को विश्लेषण गर्दै अन्तमा ठोस, संरचनात्मक समाधानहरूको विस्तृत मार्गचित्र प्रस्तुत गर्ने जमर्को गरिएको छ।
अस्थिरताका संरचनात्मक र नैतिक कारक तत्वहरु: नेतृत्वको नैतिक पतन र जिम्मेवार पात्रहरु
वर्तमान राजनीतिक संकटको मूल कारण प्रणालीमा भन्दा पनि नेतृत्वको नैतिक पतनमा रहेको विश्लेषणले देखाउँछ।जब नेतृत्वले संस्थागत निष्ठाभन्दा व्यक्तिगत र दलीय स्वार्थलाई प्राथमिकता दिन्छ, तब राज्यका आधारभूत संरचनाहरू कमजोर हुन्छन्।
१. नेतृत्वको नैतिक पतन र व्यक्तिगत स्वार्थको बोलवाला
नेपालमा राजनीतिक स्थिरता प्राप्त गर्न नसक्नुको प्राथमिक कारण शीर्ष नेतृत्व,लगायत अन्य शीर्ष नेताहरूले राष्ट्रिय स्वार्थलाई भन्दा व्यक्तिगत र दलीय स्वार्थलाई प्राथमिकता दिनु हो।यो केवल सत्ताको मोह मात्र नभई, राजनीतिक वर्गमा देखिएको ‘नैतिक शून्यता’को अवस्था हो।यस अवस्थामा, नेताहरूले जनमत र संवैधानिक प्रक्रियालाई शक्ति आर्जन गर्ने साधनको रूपमा मात्र लिन्छन्।व्यक्तिगत स्वार्थको बोलवालाले संस्थागत निष्ठाको बलि चढाउँछ। नेताहरूले आफ्नो शक्ति सुनिश्चित गर्न संवैधानिक निकायहरूलाई राजनीतिकरण गर्छन्।यस प्रक्रियामा, संवैधानिक नियुक्तिहरू योग्यताभन्दा बफादारीका आधारमा गरिन्छ,जसले ‘घराना–तन्त्र’ (Family/Crony rule) लाई बढावा दिन्छ।यो घराना–तन्त्रमा राजनीतिक प्रणाली प्रजातान्त्रिक अभ्यासभन्दा भ्रष्टाचारमा आधारित सञ्जालको रूपमा स्थापित हुन्छ।यसले गर्दा निर्वाचन प्रणाली महँगो र अपारदर्शी बन्छ, सक्षम व्यक्तिहरू नेतृत्वमा आउनबाट वञ्चित हुन्छन्, र युवा पुस्तामा असन्तुष्टि बढ्छ।
२. भ्रष्टाचार र दण्डहीनताको चक्र
राजनीतिक अस्थिरतालाई निरन्तरता दिने अर्को प्रमुख कारक व्यापक भ्रष्टाचार र त्यसलाई रोक्न नसक्दा संस्थागत भएको दण्डहीनता हो ।उच्च पदस्थ व्यक्तिहरूको संलग्नतामा हुने भ्रष्टाचार रोक्न राज्यका संयन्त्रहरू असफल भएका छन्।उदाहरणका लागि, वर्तमान जिम्मेवार पात्रहरू (जस्तै: दाहाल,देउवा र ओली) माथि अवैध सम्पत्ति सञ्चय गरेको आरोप लाग्नुले यस समस्याको गहिराइलाई दर्शाउँछ।भ्रष्टाचार यहाँ केवल आर्थिक अपराध मात्र नभई राजनीतिक स्थायित्व कायम गर्ने प्रणालीगत अवरोधक (Systemic Barrier) को रूपमा काम गर्दछ। जब शीर्ष नेताहरू भ्रष्टाचारमा लिप्त हुन्छन्, उनीहरूले आफ्नो पद जोगाउनका लागि विधिको शासनलाई कमजोर पार्न थाल्छन्। यसले न्यायिक स्वतन्त्रतालाई सीधै असर गर्छ। भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक निकाय (जस्तै: अख्तियार) लाई राजनीतिक रूपमा कमजोर पार्ने कार्यले दण्डहीनतालाई संस्थागत गरेको छ । यसरी, राजनीतिक वर्गले आफ्ना अवैध कार्यहरूको प्रतिरक्षा प्रणाली बलियो बनाएको छ, जसले गर्दा सार्वजनिक विश्वासको क्षयीकरण र संस्थागत निष्ठाको समाप्ति भएको छ।
नेपालको हालको राजनीतिको महत्वपूर्ण मोडहरु साथै ऐतिहासिक विसंगतिहरुको विश्लेषण
नेपालको वर्तमान अस्थिरतालाई संस्थागत गर्ने दुई महत्वपूर्ण ऐतिहासिक मोडहरू छन्: अन्तरिम संविधानको निर्माणमा देखिएको प्रतिरोध र न्यायपालिकाको राजनीतिकरणको प्रतीक शुशिला कार्की प्रकरण।यी घटनाक्रमहरूले शीर्ष राजनीतिक नेतृत्वले कसरी शक्ति सन्तुलनभन्दा शक्ति केन्द्रीकरणलाई प्राथमिकता दियो भन्ने स्पष्ट पार्छन्।
पहिलोः-अन्तरिम संविधानको प्रतिरोध: संरचनात्मक सरकार गठनको गल्तीको जग हो
राजनीतिक अभिजात वर्गले राष्ट्रिय दृष्टिकोणको अभावमा“लामो समयसम्म अन्तरिम संविधानको चरणलाई बेवास्ता गर्न चाह्यो। यो प्रतिरोधको पछाडिको मुख्य कारण तत्काल शक्ति वितरणको सुनिश्चितता थिएन, बरु अन्तरिम संविधानमा शक्तिलाई आफ्नो अनुकूल बनाउने हतारो थियो।अन्तरिम संविधानको चरणले शक्तिलाई संस्थागत र कानूनी रूपमा व्यवस्थित गर्न तथा विस्तृत राष्ट्रिय सहमतिका लागि समय दिन्छ।
दोश्रोः-शुशिला कार्की प्रकरणको चिरफार: न्यायपालिकाको राजनीतिकरण
नेपालको कार्यकारी नेतृत्वमा गैर-दलीय र उच्च नैतिक मूल्यमान्यता भएको व्यक्ति (पूर्व प्रधानन्यायाधीश शुशिला कार्की) लाई प्रधानमन्त्री बनाउने प्रयास राजनीतिक वर्गको अखण्डताप्रतिको प्रतिरोधको स्पष्ट उदाहरण हो।गैर-दलीय नेतृत्वको माग नागरिक समाज र सुधारवादी समूहबाट उठेको थियो।कार्की जस्तो स्वतन्त्र व्यक्तिलाई प्रधानमन्त्री बनाउँदा भ्रष्टाचार र दण्डहीनतामाथि प्रभावकारी छानबिन हुने र उच्च पदस्थ नेताहरूको अवैध नेटवर्क भत्कने खतरा थियो। त्यसैले, प्रमुख नेताहरूले क्षणिक दलीय लाभलाई पन्छाउँदै संवैधानिक र राजनीतिक दाउपेच मार्फत स्वतन्त्रताको बाटो रोके। यो गठबन्धनले संस्थागत स्वतन्त्रतामाथि दलगत स्वार्थ हावी भएको प्रमाणित गर्छ। यस प्रकारको राजनीतिक हस्तक्षेपले विधिको शासनमाथि गम्भीर प्रश्न उठायो र न्यायपालिका तथा कार्यकारीको नेतृत्वलाई दलीय स्वार्थको विषय बनायो।
जेनेरेसन जी (Gen Z) को असन्तुष्टि र राजनीतिको वर्तमान संकट
वर्तमान राजनीतिक अस्थिरताको प्रत्यक्ष र सबैभन्दा मुखर अभिव्यक्ति युवा आक्रोश हो, जुन विशेषगरी जेन जेड (Gen Z) पुस्तामा केन्द्रित छ।
पहिलोः-जेन जेडका मागहरुको स्वरूप र नैतिक आधार
जेन जेडका मागहरू परम्परागत वैचारिक वा दलगत राजनीतिभन्दा फरक छन्।उनीहरू ‘कुर्सीको झगडा’ भन्दा ‘काम, परिणाममुखी शासन, नैतिकता, जवाफदेहिता,भष्टाचारमुक्त शासन र अखण्डता’ मा केन्द्रित छन् किनकी उनिहरु कुशासन, पाखण्डता र दण्डहिनता र राजनीतिक परिवारवादमा विस्वास गर्दैनन्।उनीहरूले २०४६ र २०६२ को राजनीतिक परिवर्तनबाट अपेक्षित लाभ पाउन नसकेको र पुरानो दलगत नारामा विश्वास नभएको महसुस गरेका छन्।यो असन्तुष्टि केवल आर्थिक निराशा मात्र नभई, पुरानो राजनीतिक वर्गको वैधता (Legitimacy) लाई सीधै चुनौती दिने ‘नैतिक विद्रोह’ हो।शीर्ष नेतृत्वको नैतिक पतन र व्याप्त भ्रष्टाचार नै यो युवा असन्तुष्टिको मुख्य इन्धन हो।युवा पुस्ताले भ्रष्ट नेताहरूबाट कुनै परिवर्तनको आशा नदेखेपछि सडकमा उत्रिनु स्वाभाविक हुन्छ,उत्रिए पनि शाहदत पनि प्राप्त गरे किनकि उनीहरूले वर्तमान शासकहरूको विश्वसनीयता समाप्त भएको महसुस गरेका छन्।
दोश्रोः-माग सम्वोधन हुन नसक्नुका कारणहरु
जेन जेडका नैतिकतामा आधारित मागहरू स्थापित राजनीतिक पार्टीहरूले सम्बोधन गर्न नसक्नुको मुख्य कारण राजनीतिक वर्गको अस्तित्व रक्षा हो। राजनीतिक वर्ग युवाका मागहरूको गहिराई बुझ्न वा उनीहरूसँग संवाद गर्न असमर्थ देखिन्छ। नेताहरू अझै पुरानै शक्ति बाँडफाँडको खेलमा व्यस्त छन्।यदि नेताहरूले युवाका मुख्य मागहरू, जस्तै उच्च-स्तरीय भ्रष्टाचारको अन्त्य, प्रभावकारी रूपमा सम्बोधन गरेमा, उनीहरूको आफ्नै शक्ति संरचना र वित्तीय आधार भत्किन्छ।अनैतिकताको निरन्तरता र शक्ति केन्द्रीकरणको प्रवृत्तिले गर्दा, पार्टीहरूले रणनीतिक रूपमा यी मागहरूलाई बेवास्ता गर्छन् वा दबाब सिर्जना गर्ने प्रयास गर्छन्। यसले गर्दा युवा पुस्ताले आफूलाई प्रणालीबाट बहिष्कृत महसुस गर्छ र वर्तमान राजनीतिक प्रणालीको ‘वैधता संकट’ (Crisis of Legitimacy) गहिरिँदै गएको छ, जसलाई सम्बोधन नगरी राजनीतिक स्थायित्व सम्भव छैन।
भूराजनीतिक चलखेल र विदेशी प्रभावको चिरफार
नेपालको आन्तरिक राजनीतिक अस्थिरतालाई भूराजनीतिक प्रतिस्पर्धाले थप जटिल र तीव्र बनाएको छ।आन्तरिक वैधता गुमाएपछि, नेपाली नेताहरू सत्ता टिकाउन विदेशी समर्थनमा निर्भर हुने प्रवृत्ति बढेको छ।
नेपालमा जारी राजनीतिक चलखेलको स्वरूप
२०७२ को संविधान निर्माणपछि नेपाल भूराजनीतिक प्रतिस्पर्धाको प्रमुख रणभूमि बनेको छ,जहाँ भारत, चीन र संयुक्त राज्य अमेरिकाले आफ्नो प्रभाव विस्तार गर्न खोजिरहेका छन्।विदेशी शक्तिहरूले आन्तरिक सत्ता संघर्ष, गठबन्धन निर्माण/विघटन र नीतिगत निर्णयहरूलाई सीधै प्रभावित गरिरहेका छन्।विदेशी चलखेलको सफलताको मुख्य कारण नेपालका नेताहरूको आन्तरिक नैतिक कमजोरी हो।जब नेताहरू भ्रष्ट र नैतिक रूपमा कमजोर हुन्छन्, उनीहरू सजिलै विदेशी स्वार्थको औजार बन्न पुग्छन्।भ्रष्टाचारले नेतालाई ब्ल्याकमेल (Blackmail) को जोखिममा राख्छ, जसले राष्ट्रिय सुरक्षा र सार्वभौमसत्तालाई कमजोर बनाउँछ।आन्तरिक राजनीतिक वर्गले राष्ट्रिय हितलाई केन्द्रमा नराख्दा विदेशी शक्तिहरूको हस्तक्षेप बढ्नु स्वाभाविक प्रक्रिया हो।
विदेशी दूतावासका लस्करहरुको अर्थ र संकेत
राजनीतिक संकटको समयमा विदेशी दूतावासका गाडीहरूको बाक्लो आवागमन (लस्कर) बढ्नु “ केवल कूटनीतिक सक्रियता नभई, नेपालको कूटनीतिक ‘स्वायत्तता’ मा आएको कमीको ज्वलन्त भौतिक प्रमाण हो।यो दृश्यले ‘राजनीतिक हस्तक्षेपको दृश्य संकेत’ गर्दछ।
दूतावासका लस्करहरूले निम्न कुराहरू संकेत गर्दछन्:
१. तत्काल चासो: नेपालको आन्तरिक निर्णयहरूमा विदेशी शक्तिहरूको तत्काल र उच्च-स्तरको चासो बढेको छ।
२. प्रत्यक्ष दबाब: विदेशी शक्तिहरूले गठबन्धन निर्माण/विघटन वा ठूला नीतिगत परियोजनाहरू (जस्तै: MCC, BRI) मा प्रत्यक्ष दबाब सिर्जना गर्न खोजिरहेका छन्।
३. आत्मविश्वासको कमी: नेपाली नेताहरू आन्तरिक वैधता गुमाएपछि विदेशी शक्तिको सहारामा सत्ता टिकाउन वा भत्काउन खोज्छन्, जसले गर्दा कूटनीतिक सक्रियता बढ्छ। यो लस्करले देखाउँछ कि नेताहरूले राष्ट्रिय स्वाभिमानभन्दा राजनीतिक गठबन्धनको सुरक्षालाई प्राथमिकता दिएका छन्।
नेपालमा सक्रिय प्रमुख भूराजनीतिक स्वार्थहरूको मानचित्रण जटिल छ: भारतले सुरक्षा, जलस्रोत, र परम्परागत प्रभाव कायम राख्न खोज्छ; चीनले तिब्बत सुरक्षा, BRI परियोजनाहरूको कार्यान्वयन, र भारत/अमेरिकाको प्रभाव नियन्त्रण गर्ने प्रयास गर्छ; र अमेरिकाले इन्डो-प्यासिफिक रणनीतिअन्तर्गत MCC लगायतका माध्यमबाट आर्थिक/सुरक्षा प्रभाव विस्तार गर्न खोज्छ। यी स्वार्थहरूको प्रतिस्पर्धाले नेपालको आन्तरिक अस्थिरतालाई मलजल गरिरहेको छ।
अबको राजनीतिक समाधानको पाटो र भविष्यका लागि सुझावहरु
नेपालको राजनीतिक संकटलाई सम्बोधन गर्न केवल नेतृत्व परिवर्तन पर्याप्त छैन। स्थायित्व हासिल गर्न संरचनागत, संस्थागत, र नैतिक स्तरमा विस्तृत सुधार आवश्यक छन्।
पहिलोः-संवैधानिक र संरचनात्मक सुधार
१. संवैधानिक प्रावधानको पुनर्मूल्याङ्कन: सरकार गठन प्रक्रियालाई अनावश्यक अस्थिरताबाट जोगाउनका लागि कार्यकारी प्रमुख चयनसम्बन्धी नियमहरूलाई परिमार्जन गरी हाललाई अन्तरिम संविधानको निर्माण वा हालको संबिधानको अधिक संसोधन गरी हालको अन्तरिम सरकरालाई संवैधानिक मान्यता प्रदान गरी बारम्बारको सरकार फेरबदल रोक्नका लागि संसदीय प्रक्रियामा स्थिरता ल्याउने प्रावधानहरू लागू गरिनुपर्छ।
२. निर्वाचन प्रणालीको शुद्धीकरण (Electoral Purity): निर्वाचन प्रणालीको सुधार नगरी भ्रष्टाचार अन्त्य सम्भव छैन।हालको महँगो प्रणालीले भ्रष्ट र धनी व्यक्तिलाई मात्र नेतृत्वमा ल्याउँछ।त्यसैले, चुनावी खर्चको पारदर्शिता सुनिश्चित गर्नुपर्छ र राजनीतिक दलहरूको आन्तरिक लोकतन्त्रलाई अनिवार्य बनाउनुपर्छ।प्रत्यक्ष कार्यकारी राष्ट्र प्रमुख वा प्रधानमन्त्रिको निर्वाचनको व्यवस्था कायम गरी राजनीतिक दलहरूलाई राष्ट्रिय सम्पत्तिको रूपमा व्यवहार गर्दै उनीहरूको आय-व्ययको कठोर नियमन गर्नुपर्छ।
दोश्रोः-संस्थागत सुदृढीकरण र नैतिकताको पुनर्स्थापना
१. न्यायपालिकाको स्वायत्तता: न्यायपालिकालाई राजनीतिक हस्तक्षेपबाट पूर्ण रूपमा मुक्त गर्नुपर्छ। अवसरवादी प्रकरणका घटना दोहोरिन नदिनका लागि संवैधानिक नियुक्तिको प्रक्रियालाई निष्पक्ष, पारदर्शी र राजनीतिक प्रभावमुक्त बनाउन आवश्यक छ।
२. भ्रष्टाचार विरोधी संयन्त्रको बलियोकरण: अख्तियार दुरुपयोग अनुसन्धान आयोग (CIAA) र अन्य अनुसन्धान निकायहरूलाई राजनीतिक दबाबबाट पूर्ण रूपमा मुक्त गरी उच्चस्तरीय भ्रष्टाचारविरुद्ध प्रभावकारी कारबाही गर्न सक्षम बनाउनु अपरिहार्य छ । भ्रष्टाचार नियन्त्रणका लागि केवल कानूनको कार्यान्वयन मात्र होइन, ‘नैतिक नेतृत्व’ (Moral Leadership) को चयनलाई प्राथमिकता दिनु आवश्यक छ । संस्थागत सुधारले विधिको शासनलाई प्रत्याभूत गर्न सक्छ।
तेश्रोः-राष्ट्रियता र रणनीतिक स्वायत्तता
१. विदेशी चलखेलको व्यवस्थापन: नेपालले आफ्ना राष्ट्रिय हितलाई केन्द्रमा राखेर विदेशी शक्तिहरूको सन्तुलित व्यवस्थापन (Balancing Act) गर्न सक्नुपर्छ।विदेशी हस्तक्षेपलाई सीमित गर्नका लागि सबै आन्तरिक राजनीतिक वर्गले राष्ट्रिय एजेन्डामा सहमति कायम गर्नु अनिवार्य छ। विदेशी शक्तिहरूलाई आन्तरिक राजनीतिमा खेल्ने ठाउँ नदिनु नै राष्ट्रिय स्वाभिमानको पहिलो शर्त हो।
२. कूटनीतिक प्रोटोकलको कार्यान्वयन: विदेशी दूतावासका लस्करहरूको आवश्यकता र औचित्यमाथि सरकारी निकायहरूले निगरानी र नियमन राख्नुपर्छ, ताकि कूटनीतिक गतिविधि ‘चलखेल’ मा परिणत नहोस् ।नेपालको परराष्ट्र नीतिले राष्ट्रिय हितलाई केन्द्रमा राखेर रणनीतिक स्वायत्तता कायम गर्नुपर्छ।
चौथोः-युवा नेतृत्वको सशक्तीकरण र जेन जेडका मागहरूको सम्बोधन
पहिलो शर्त-वर्तमान राजनीतिक नेतृत्वले युवा पुस्ताको नैतिक विद्रोहको सन्देशलाई स्वीकार गर्नुपर्छ।
१. नेतृत्व हस्तान्तरण: विद्यमान पार्टी नेतृत्वले युवाको नैतिकता र जवाफदेहिताको मागलाई स्वीकार गरी नेतृत्व हस्तान्तरणको ठोस योजना बनाउनुपर्छ। युवालाई राजनीतिको मूलधारमा ल्याउनका लागि पार्टी संरचनामा सुधार आवश्यक छ।
२. डिजिटल पारदर्शिता: सूचना प्रविधिको प्रयोग गरी सरकारका निर्णय, आय-व्यय, र ठेक्का पट्टामा पूर्ण पारदर्शिता ल्याउनु पर्छ। यसले जेन जेडको ‘अखण्डता’ को मागलाई सम्बोधन गर्छ र विश्वासको वातावरण निर्माण गर्छ ।
अन्त्यमा नेपालको वर्तमान विषम राजनीतिक परिस्थिति नैतिक पतन, संस्थागत क्षयीकरण, र भूराजनीतिक चलखेलको त्रिपक्षीय संकटको परिणाम हो। आन्तरिक राजनीतिक नेतृत्वको नैतिक शून्यता र भ्रष्टाचारले विदेशी चलखेलका लागि सहज मार्ग खोलेको छ। यदि नेताहरू राष्ट्रिय स्वार्थमा अडिग र नैतिक रूपमा बलियो हुन्थे भने, विदेशी शक्तिहरूले उनीहरूलाई सजिलै प्रभाव पार्न सक्दैनथे।समाधानका लागि, राजनीतिक नेतृत्वले आफ्नो ‘नैतिक ऋण’ स्वीकार गरी संरचनागत र संस्थागत सुधारहरूमा तत्काल ध्यान केन्द्रित गर्नुपर्छ। निर्वाचन प्रणालीको शुद्धीकरण, न्यायिक स्वतन्त्रताको पुनर्स्थापना, र भ्रष्टाचार विरोधी संयन्त्रको बलियोकरणले मात्र दिगो राजनीतिक स्थायित्व प्रदान गर्न सक्छ। जेन जेडको असन्तुष्टि वर्तमान प्रणालीको वैधता संकटको संकेत हो। नेपालको राजनीतिक भविष्यको मार्गचित्र विधिको शासनलाई केन्द्रमा राखेर, नैतिक नेतृत्वलाई प्राथमिकता दिने र राष्ट्रिय हितलाई सर्वोपरी मान्ने संरचनात्मक सुधारमा आधारित हुनुपर्छ। अन्यथा, अस्थिरताको यो चक्र चलिरहनेछ, जसले राष्ट्रिय स्वायत्ततालाई निरन्तर कमजोर पार्नेछ।
लेखक परिचय
ठेगाना-महालक्ष्मी न पा ७ धनकुटा
अर्खोले जितपुर घर भई हाल- विराटनगर म.न.पा.२,मोरङ
कार्य/पत्र पत्रिका लेख लेखन/अध्ययन/अध्यापन



