धनकुटामा देउसीभैलो राति १० बजेसम्म, मापसे गर्न,जुवातास खेल्न नपाइने
धनकुटा,२९ असोज । धनकुटामा तिहारको अवसरमा खेलिने देउसीभैलो राति १० बजेसम्म मात्र खेल्न पाइने भएको छ ।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालद्वारा हस्ताक्षरित जारी सुचनामा भनिएको छ -तिहारमा जिल्लामा प्लाष्टिकजन्य फूलमाला, पटका, आतिसवाजी लगायतका विष्फोटक पदार्थ आयात बिक्री वितरण तथा प्रयोगमा रोक लगाइएको हुँदा उक्त सामानहरु उत्पादन, बिक्री वितरण र प्रयोग नगर्नु नगराउन साथै देउसी भैलो कार्यक्रमलाई मर्यादित बनाउन अन्य मनोरञ्जनात्मक क्रियाकलाप बेलुका १०:०० बजेसम्म मात्र सञ्चालन गर्न गराउन हुन अनुरोध छ ।
त्यसैगरि मादक पदार्थ सेवन गरी सार्वजनिक शान्ति सुरक्षालाई असर पर्नेगरी सार्वजनिक स्थानमा हो-हल्ला गर्ने एवं झै-झगडा नगर्नु नगराउनु हुन पनि सुचनामा उल्लेख छ ।
साथै तिहारमा जुवातास, कौडा, लंगुरबुर्जा जस्ता बाजी थापिने जुवाजन्य खेल नखेल्नु नखेलाउनु हुन पनि भनिएको छ ।
उल्लेखित सूचनाको अवज्ञा गरी कोही कसैले यस विपरीत कार्य गरे गराएको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गरिने व्यहोरा समेत सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिएको छ ।



