जेनजी आन्दोलनका क्रममा लुटपाट र आगजनीमा संलग्नलाई कारबाही गर्न कांग्रेसको माग

विराटनगर । जेनजी आन्दोलनका क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमाथि तोडफोड र आगजनी गर्नेलाई कारबाहीको दायरामा ल्याउन नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ ले माग गरेको छ ।

आन्दोलनका क्रममा विराटनगरस्थित लोकतन्त्रप्रति आस्था राख्ने तथा कांग्रेसजनको आस्थानको धरोहर कोइराला निवासमा समेत आगजनी गरिएको प्रति कांग्रेसले घोर आपत्ति जनाएको छ । क्षेत्रीय सभापति देवराज तामाङ नेतृत्वको टोलीले आज बुधबार मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्रसमेत पठाएको छ ।

‘आन्दोलनका क्रममा योजनाबद्ध रुपमा घुसपैठ गरी नेपाली कांग्रेसका धरोहर पिताजी कृष्णप्रसाद कोइरालाबाट निर्मित महामानव वीपी कोइराला, युगपुरुष गिरिजाप्रसाद कोइराला तथा हाल नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाको निवास तथा सम्पूर्ण कांग्रेसजनको आस्थाको धरोहर कोइराला निवासमा एवं कांग्रेस केन्द्रीय कार्यालय साथै विभिन्न तहका कार्यालयहरु तथा केन्द्रीय सभापति शेरबादुर देउवालगायत पार्टीका नेतागणहरुमाथि अराजक तथा आपराधिक तत्वहरुबाट लुटपाट, कुटपिट तथा भवनसमेतमा आगजनी गरी सोभित्र रहेका ऐतिहासिक, पौराणिक सामग्री तथा निजी सम्पत्ति पूर्ण रुपमा जली नष्ट भएकाले नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ६ मोरङ घोर भत्र्सना गर्दछ,’ ज्ञापनपत्रमा भनिएको छ ।

राज्यले आगजनी र लुटपाटनमा संलग्न अपराधीहरुलाई शीघ्र खोजी कडाभन्दा कडा कारबाही गर्न ज्ञापनपत्रमा माग गरिएको छ । गृहमन्त्रीलाई पठाएको ज्ञापनपत्रमा भनिएको छ, ‘ऐतिहासिक धरोहर नष्ट गर्ने अपराधीहरुलाई अविलम्ब पक्राउ गरी कानुनी कारबाही गर्न गराउन नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ जोडदार माग गर्दछ ।’

नेपाली कांग्रेस मोरङका उपसभापति नागेश कोइरालाले घटनामा संलग्नलाई सरकारले कारबाही गर्न नसके देशमा दण्डहीनता मौलाएर अपराधीकरण बढ्ने बताए । उनले देशमा कानुनी राज्यको जनतालाई आभास दिलाउन जेनजी आन्दोलनमा घुसपैठ गरी सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी र लुटपाट गर्नेलाई तत्काल कानुनी कठघरामा उभ्याउनुपर्नेमा जोड दिए । ‘घटनामा संलग्नहरुलाई राज्यले कारबाही गर्न सकेन भने देशमा दण्डहीनता मौलाएर जानेछ,’ उनले थपे, ‘जसले अपराधीहरुको मनोबल वृद्धि भई समाजमा थप अपराधका घटना हुनसक्ने सम्भावना छ । थप घटना हुन नदिन अपराधीहरुलाई कानुनी कठघरामा उभ्याउनु आवश्यक छ ।’

ज्ञापनपत्र वाचन गर्दै क्षेत्रीय सचिव जितेन्द्र गोल्छाले लुटपाट र आगजनीमा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।

क्षेत्रीय सभापति देवराज तामाङले कोइराला निवाससँगै कांग्रेसको केन्द्रदेखि स्थान तहसम्मका पार्टी कार्यालय तोडफोड र आगजनी गरिएको भन्दै घटनामा संलग्नलाई कारबाही गर्न माग गरे । ‘पार्टीका नेताहरुको घरमा आगजनी र तोडफोड गरिएको छ,’ तामाङले भने, ‘लोकतन्त्रप्रति विश्वास राख्नेहरुका लागि आस्थाको धरोहर कोइराला निवासलाई खरानी बनाइएको छ । यो सबै घटना योजनाबद्ध रुपमा भएको छ । घटनामा संलग्नहरुलाई यथाशीघ्र कारबाही होस् ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।