अब ओलीले बिदा लिनुपर्छ : एमाले केन्द्रिय सदस्य उषाकिरण
काठमाडौ । नेकपा (एमाले) की केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गरेकी छन्। शुक्रबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै उनले हालको पार्टी संरचना लिएर न चुनावमा जान सकिने अवस्था रहेको बताउँदै ओलीले अब जिम्मेवारी हस्तान्तरण गर्नुपर्ने धारणा राखेकी हुन्।
तिम्सेनाले भनिन्, “हरेक समयमा देशको एउटा कार्यभार हुन्छ। अहिले नेपालको मुख्य कार्यभार दलहरूको पुनर्गठन हो। त्यसका लागि एमालेको पुनर्गठन आवश्यक छ। कांग्रेसमा त्यो प्रक्रिया सुरु भइसकेको छ, अब अध्यक्षले बिदा लिएर अभिभावक बने सकारात्मक सन्देश दिनुपर्छ।”
उनले जेनजी विद्रोहमा मारिएका २४ जनाको जिम्मेवारी कसले लिने भन्ने प्रश्न गर्दै, पार्टी नेतृत्वले नैतिक उत्तरदायित्व लिनुपर्ने बताइन्। “अहिले असफल भएको नेतृत्वले सफल भएको भनिरहँदा त्यसको अर्थ के हो? खर्बौंको सम्पत्ति नष्ट भयो, निर्दोष मरे, त्यसको नैतिक जिम्मा कसले लिन्छ?” उनले प्रश्न गरिन्।
तिम्सेनाले ओलीको ११ वर्ष लामो नेतृत्वको समीक्षा गर्दै भनिन्, “यी ११ वर्षका अभ्यासहरूले पार्टी र वाम आन्दोलनलाई कहाँ पुर्यायो भनेर एकपटक आत्मालोचना गर्नुपर्छ। नागरिकहरूमा निराशा फैलिएको छ।” उनले एमालेको चुनाव चिह्न ‘सूर्य’मा प्रतिगामीहरूलाई भित्र्याइएको भन्दै त्यसको पनि जवाफ मागेकी थिइन्।
उनले मीनबहादुर गुरुङबाट दानस्वरूप प्राप्त जग्गा फिर्ता गर्न पनि आग्रह गरिन्। “अन्यथा नलिनु होला, त्यो सम्पत्तिमाथि हमला भयो, क्षति भयो, त्यसैले त्यो सहयोग फिर्ता गर्नुपर्छ,” उनले भनिन्।
तिम्सेनाले अन्त्यमा भनिन्, “एक व्यक्तिको महत्त्वाकांक्षाका कारण सिंगो पार्टीको विकास अवरुद्ध पार्न मिल्दैन। एमालेको गौरवपूर्ण इतिहास जिम्मेवार निर्णयमा निर्भर छ। अध्यक्ष ओलीले अब पार्टीलाई नयाँ पुस्ताको हातमा सुम्पेर सकारात्मक सन्देश दिनुपर्छ।”


