साम्यवाद र नेपालमा यसको प्रभाव

– धर्मचन्द्र योञ्जन

परिचय

नेपालको सामाजिक र राजनीतिक इतिहास निरन्तर परिवर्तनको यात्रामा छ । जहाँ प्रत्येक युगले नयाँ प्रश्नहरू सोधेको छ, र जनताले हरेकपटक नयाँ उत्तरहरू खोजेका छन् । हाम्रो इतिहास केवल विजयीहरूको नाम र पराजयीहरूको सूची होइन; त्यो त गाउँका कर्मठ किसानहरूले चौतारीमा बसेर गर्ने गरेका चिया गफ मात्रै होइन, त्यहाँको पवित्र पवनमा घुम्ने ऐतिहासिक घटनाक्रमहरू पनि हुन्, रातभर खेतबारीमा बसेर राज्य सत्ताका विरुद्ध बुनेका सपनाहरू हुन्, धावाहरू हुन् । यहाँ हरेक पुस्ताले आफ्नै प्रश्न बोकेको छ, के हामी समानतामा बाँच्न सक्छौँ ? के हामीले न्याय पाउन सक्छौँ ? र त्यस प्रश्नको उत्तर खोज्न जाँदा पटकपटक देशले नयाँ बाटो चुनेको छ । तिनै बाटाहरूमा कहिले उत्साहको चिरपरिचित स्वर सुनिन्छ, त कहिले निराशाका मौन सङ्केतहरूझैँ हराउँछन्; तर प्रत्येक युगले आफ्नै तरिकाले सभ्य समाजको परिकल्पना गर्न सिक्यो, र त्यो सिकाइ नै हाम्रो इतिहासको सम्मुख हो ।

(लेखक)

त्यही यात्रामा साम्यवाद केवल एउटा राजनीतिक सिद्धान्त होइन, समानता र न्यायको सपना बोकेको साधारण मानिसहरूको साझा स्वर बनेर एउटा चेतनाको दीपको रूपमा उदायो । साम्यवाद यहाँ शब्द मात्रै थिएन; त्यो त मान्छेको मुटुमा उम्लिएको सत्य थियो । जब मान्छेले मेरो हातले खेत रोपिएका छन् भने किन म हँसिलो हुन सक्दिनँ ? भनेर प्रतिप्रश्न गर्थ्यो । त्यो एक शैक्षिक सिद्धान्तभन्दा बढी त दुःख–सुख बाँड्ने मान्छेहरूको आशा बनेको थियो; त्यो एउटै विद्यालयको छानामुनि बसेर सपनाहरू बुन्ने आवाज थियो । पारिवारिक कथाहरू, कामबाट फर्किएका श्रमिकको थाकेको अनुहार, र उही घरका महिलाहरूको अटूत धैर्य थियो । सबैले साम्यवादलाई केवल विचार नभई साझा चिन्तन बनाएका थिए ।

त्यो विचार केवल किताबमा जन्मिएको होइन, यो किसानको पसिनासँग, मजदुरको हातसँग, र गरीबको श्वाससँग बाँधिएको सपना हो । हामीले पढेका सिद्धान्तहरू अध्ययनशालामा सीमित थिएनन् । खेतका गह्राहरूमा भताभुङ्ग परेका ती माटाका धुलोमा, कारखानामा रातभर काम गर्ने कामदारको थाकेको पञ्जामा, घरको ढोकामा खाली भाँडो हेर्दै बसेकी आमाको आँखामा पनि त्यही प्रश्न थियो । साम्यवादले ती प्रश्नहरूलाई नाम दियो । जब एक किसानले आफ्नै माटोमा निर्णय लिन खोज्छ, वा मजदुरले आफ्नो परिवारका लागि न्यूनतम ज्याला माग्छ, तब त्यो सिद्धान्त आफ्नै शरीरमा स्पन्दित हुन्छ, तानमा होइन, जीवनमा । त्यसैले यहाँको साम्यवाद पुस्तकको शब्दभन्दा दैनिक जीवनको आवश्यकता हो ।

नेपालमा साम्यवाद कुनै आयातित दर्शन होइन, यो अन्यायको अँध्यारोभित्र जन्मिएको न्यायको खोजमा हिँड्ने मान्छेको आफ्नै स्वर हो । यहाँको साम्यवाद विदेशी विचारहरूको अडानमा मात्र टिकेको छैन; यसले हाम्रो नदी, बाटो, पहाड र घरका सन्दर्भ समाएको छ । राणा–राजा, सामन्ती परम्परा, जातीय विभेद जस्ता अँध्याराहरूले जब मान्छेलाई साँघुरो बनायो, तब साम्यवादी आवाजले ‘हामी पनि समान हौँ’ भनी प्रतिवाद गरायो । त्यो विरोध कुनै शाब्दिक विरोध मात्र थिएन; त्यो आम घरको दराज खोल्ने, पुरानो नियममाथि प्रश्न गर्ने, र कथित सानो मान्छेहरूका गरीबीलाई सार्वजनिक रूपमा बोल्ने साहस थियो । साम्यवाद हाम्रा आफ्नै पीडाबाट यहाँ जन्मियो, साम्यवाद हाम्रा आफ्नै मान्छेहरूको दमित अनि शोषित आवाजको रूपमा हुर्कियो र त्यो आवाजले भन्न थाल्यो — इनफ इज इनफ अर्थात् अब त अतिभयो, हामीलाई न्याय माग्न पाउने अधिकार छ ।

नेपालमा साम्यवादको उदय

जब सन् १९४९ मा पुष्पलाल श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी स्थापना गरे, त्यो केवल एउटा राजनीतिक दलको जन्म थिएन । त्यो त मौनता भित्रको पहिलो स्वर थियो, जुन “हामी पनि बोल्न सक्छौँ” भन्दै गुञ्जिएको थियो । त्यो समयको नेपाल बोल्न नपाइने, प्रश्न गर्न नपाइने, र सोच्न पनि डर मान्नुपर्ने देश थियो । जहाँ शासकको शब्द नै धर्मजस्तो मानिन्थ्यो, र प्रजाको पीडा सधैँ मौनतामै सीमित रहन्थ्यो । पुष्पलालको त्यो कदम त्यही मौनतालाई चिर्ने पहिलो साहस थियो । एउटा झिल्को थियो, जसले अँध्यारो सुरुङभित्र उज्यालोको कल्पना गर्न सम्भव बनायो ।

त्यो स्वर केवल राजनीतिक घोषणापत्रमा सीमित थिएन, त्यो आवाज गाउँको ढुङ्गामाटोबाट प्रतिध्वनित हुन्थ्यो । कुनै गाउँमा किसानले पहिलो पटक “मेरो पसिना मेरै खेतमा खन्याउँछु” भनेर प्रतिरोध गरे; कुनै शहरमा मजदुरले आफ्नो कामको मोल माग्ने हिम्मत गर्‍यो । साम्यवादले ती साना स्वरहरूलाई एउटै आवाज अर्थात् समानताको भाकामा उन्यो । त्यो भाका गाउँका चौतारो, चिया पसल, विद्यालयको आँगन हुँदै मानिसको चेतनामा पस्न थाल्यो । हावाको सुस्केराले पनि अब प्रश्न बोकेको थियो — किन कोही सधैँ मालिक, र कोही सधैँ मजदुर?

राणाशासन ढल्यो, तर देशमा स्वतन्त्रता मात्रै आयो; समानता अझै आएन । रैतीहरू प्रजा भए, कनकि राजा अझै थिए । खेत प्रजाहरूको थिएन तैपनि उनीहरू जहिल्यै थाकेका हुन्थे, धेरैले भोकै सिंहदरवार बनाउन पसिना बगाएको इतिहास साक्षी छ । घरमा भोक बाँकी थियो, र कानुन अझै शक्तिशालीको पक्षमा थियो । त्यही समयमा साम्यवादले फेरि आवाज उठायो, यो केवल सत्ता बदल्ने होइन, सोच बदल्ने आन्दोलन हो । यो आन्दोलनले जनताको पीडा बोलेर शक्तिको भाषा बदल्ने साहस गर्‍यो । राजनीतिक शक्ति पहिलो पटक जनताको कुरा सुन्नुपर्ने बाध्यता महसुस गर्न थाल्यो ।

यो उदय केवल विचारको शुरुवात थिएन, यो नयाँ चेतनाको जन्म थियो । एक यस्तो चेतना, जसले भन्थ्यो — देश कसको हो ? र त्यसको उत्तर खोज्दै गाउँका बालकदेखि शहरका शिक्षकसम्म सबैले आफूभित्र केही त बदलिएको महसुस गरे । साम्यवादले त्यही परिवर्तनलाई शब्द दियो, दिशा दियो, र जनताको मौनता तोडेर नयाँ नेपालको कल्पना गर्न हिम्मत जगायो ।

लोकतान्त्रिक आन्दोलन र साम्यवादको भूमिका

नेपालका हरेक जनआन्दोलनको मूलमा साम्यवादी विचारको ऊर्जा मिसिएको छ । हाम्रो इतिहासमा कुनै आन्दोलन केवल नेताहरूको भाषणबाट जन्मिएको थिएन । त्यो जनताको रगत, पसिना, आँसु र सपना मिसिएको सन्देश थियो । साम्यवादले ती आन्दोलनहरूलाई दिशा दियो, भाषा दियो, र हिम्मत पनि दियो । “समानता केवल आदर्श होइन, जीवनको अधिकार हो” भन्ने सोच हरेक आन्दोलनको आत्मामा बसिसकेको थियो । गाउँका किसानदेखि शहरका विद्यार्थीसम्म सबैले एउटै स्वरमा, एउटै आक्रोशमा, एउटै आशामा त्यो ऊर्जा महसुस गरेका थिए ।

२०४६ सालमा जब सडकमा भीड उर्लियो, त्यो भीड केवल शासन परिवर्तनका लागि होइन, समानता अर्थात् समान हकका लागि थियो । त्यो भीडमा कसैको हातमा रातो झण्डा थियो, कसैको हातमा बच्चा; कसैले नारा लगाइरहेका थिए, कसैले आँसु पुछ्दै अघि बढिरहेका थिए। तर सबैको मुटुमा एउटै कुरा थियो — हाम्रो आवाजले अब देश बदल्न सक्छ । सडकको धुलोमा मिसिएका जनताका पाइला केवल असन्तुष्टिको प्रतीक थिएनन्; त्यो सामूहिक चेतनाको लहर थियो, जसले इतिहासको पाना पल्टाउन खोज्दै थियो । त्यो दिन काठमाडौंका सडकले गरीब र धनी, विद्यार्थी र शिक्षक, पुरुष र महिला सबै एउटै नारासहित चिच्याइरहेका देखे — जनताको शासन, जनताको हातमा !

र जब २०५२ सालमा माओवादी जनयुद्ध शुरु भयो, हजारौं युवाहरूले बन्दुक होइन, स्वाभिमान र परिवर्तनको सपना बोकेर यात्रा थाले । त्यो सपना पहाडका बस्तीहरूमा गुञ्जियो । जहाँ विद्यालय थिएन, अस्पताल थिएन, तर समानताको इच्छा थियो । ती युवाहरूले युद्धलाई हिंसाको रूपमा होइन, अस्तित्वको खोजको रूपमा बुझेका थिए ।

कसैले आफ्ना बुबा जमिनको अभावमा मरेको देखेका थिए, कसैले आफ्नी आमा ऋणका कारण रुनु परेको देखेका थिए । त्यो पीडा नै उनको विचार बनेको थियो, अब कुरा गर्नुपर्छ । त्यो ‘कुरा’ बन्दुकको नालमा मात्र होइन, जनताको चेतनामा थियो कि देश अब केही मानिसहरूको होइन, सबैको हुनुपर्छ ।

त्यो युद्धले देशमा घरविहीन बुबा, बेपत्ता छोरा, शोकमा डुबेका गाउँहरू लगायतका अनेक घाउहरू छोड्यो । तर त्यही घाउभित्र एउटा सत्य पनि जन्मियो, राजा होइन, जनता नै राज्य हुन् । त्यो सत्यले पुरानो नेपाललाई हल्लायो; त्यही सत्यले पहिलो पटक ‘राजा अविछिन्न होइन’ भन्ने कुरा जनताको जिब्रोमा ल्यायो । सत्ता फेरियो, तर त्यसभन्दा ठूलो कुरा फेरियो — जनताको आत्मबोध । लामो इतिहासपछि जनताले देश मेरो पनि हो भन्ने महसुस गरे ।

२०६२/६३ को आन्दोलनपछि गणतन्त्रको घोषणा त्यही साम्यवादी चेतनाको सबल परिणति थियो ।
त्यो घोषणा केवल राजनीतिक परिवर्तन थिएन; त्यो ती सबै शहीदहरू, ती गाउँका नारा लगाउने आमाहरू, ती पहाडमा सपना बोकेर मरेका युवाहरूको आवाज थियो । नेपालको आकाशले त्यो दिन साँच्चै नयाँ श्वास फेर्‍यो । जहाँ राज्य अब राजाको सिंहासनमा होइन, जनताको काँधमा बस्ने घोषणा गरियो । त्यो दिन साम्यवादले रक्तरञ्जित भएपनि उज्यालो अनि संघर्षमय भएपनि आशातीत आफ्नै एउटा अर्को अध्याय लेख्यो । र जनताले समानताको सपना अब कहिल्यै मर्न सक्दैन, जबसम्म त्यो मान्छेको मुटुमा धड्किरहने छ भन्ने बुझ्न थाले ।

साम्यवादको विचार र व्यवहारबीचको अन्तर

तर समय बित्दै जाँदा सपना र यथार्थबीचको दूरी बढ्दै गयो । जुन विचार कहिल्यै नहराउने विश्वास थियो, त्यो बिस्तारै भाषणको विषय बन्न थाल्यो । कहिल्यै नझुक्ने नेताहरू सत्ताको कुर्सीमा बस्न थाले, र कुर्सी नै सिद्धान्तभन्दा ठूलो देखिन थाल्यो । जनताको पसिनाबाट जन्मिएको साम्यवाद, मन्त्रीपरिषदका कोठाहरूमा नीतिको भाषामा अनुवाद हुन थाल्यो । जहाँ उद्देश्यहरू फिक्का भएपनि शब्दहरू आकर्षक थिए । पहिलाको ‘हामी’ भन्ने आवाज अब ‘म’ मा परिणत भयो । समानताको कुरा गर्ने नेताहरू अब विशेषाधिकारको छायामा उभिएका थिए, जहाँ समानताको कुरा मात्रै थिए, व्यवहारको साहस थिएन ।

‘वर्गविहीन समाज’को आवाज बिस्तारै ‘पदयुक्त सत्तासंघर्ष’मा हरायो । जनता अझैपनि उही खेतमा पसिना बगाइरहेका थिए, उही मजदुर उही ज्यालामा काम गरिरहेका थिए, तर नेताहरूले अब आफ्नो वर्ग परिवर्तन गरिसकेका थिए । त्यो वर्ग, जसविरुद्ध उनीहरू लड्न निस्किएका थिए, अब उनीहरू आफैँ त्यही वर्गका अंग बने । आन्दोलनका ती रगतले राता झण्डाहरू अब सरकारी भवनका ढोकामा झुन्डिए, र जनताको हातमा बाँकी रह्यो — केवल सम्झना । जनताले हामी कहाँ हरायौं ? भनेर सोधिरहे तर जवाफ कहिल्यै आएन किनकि नेताहरू अब जनताको बीच होइन, भाषणमञ्चमा व्यस्त थिए ।

अनेकौं पार्टी फुटे, नाम फेरिए, घोषणापत्र नयाँ बने तर आवाज उही रह्यो — हामी जनताको लागि …. । तर जनताले विचार साँचो भएपनि व्यवहारले विचारलाई धोका दियो भनर बिस्तारै बुझ्दै गएका छन् । कुनै गाउँको वृद्ध किसानले चिया पिउँदै भन्थे — साम्यवादको कुरा त राम्रै हो, तर अहिले त नेताले त पर्खाल नै उचालिदिए । कुनै शिक्षकले कक्षामा विद्यार्थीलाई सिकाउँथे — समानताको सिद्धान्त किताबमा छ, तर समाजमा छैन । त्यो निराशा अब आक्रोश होइन; त्यो एउटा गहिरो मौनता हो, जसले भन्छ: हामीले विश्वास गरेका थियौँ, तर विश्वासले हामीले जस्तै धोका खायो ।

त्यसैले आजको साम्यवाद विचारका हिसाबले नेताहरूका भाषणमा बलियो छ, तर व्यवहारका हिसाबले असन्तुष्ट जनताको मौनतामा थकित छ । जनता अझैपनि साम्यवादलाई मनले माया गर्छन्, तर नेताहरूको क्रियाले त्यसलाई बाँच्न दिन मानेका छैनन् । यसले केवल साम्यवादी दलहरूको विखण्डन होइन, यो जनताको आत्मैदेखिको आक्रोश हो किनकि जब विचार र व्यवहारबीच दूरी बढ्छ, तब विचार मर्दैन, तर बिस्तारै जनताको विश्वास मर्छ ।

आजको साम्यवादले उस्तै सपनाहरू बोकेको छ, तर ती सपनाहरूमा माटोको गन्ध हराएको छ । जनताको घरबाट आएको आवाज अब सिंहदरबार पुग्दैन; त्यो बीच बाटोमै हराउँछ । जसले जहाँ एकातिर सत्ताको रङ चम्किन्छ, र अर्कोतिर जनताको पसिना सुकाउँछ । र सिद्धान्तको शुद्धता र व्यवहारको वास्तविकताका बीच साम्यवाद अड्किएको छ । जहाँ एउटा पक्ष थाकिसके पनि अर्को पक्ष अझै आशावादी छ ।

साम्यवादको सकारात्मक प्रभावहरू

तर साम्यवादको प्रभाव केवल राजनीतिसम्म सीमित छैन । यो अब किताबको सिद्धान्त होइन, समाजको रगतमा मिसिएको चेतना हो । त्यो चेतना, जसले हजारौं सर्वसाधारणलाई बोल्न, उठ्न, र आफ्नो अस्तित्वलाई चिन्न सिकायो । साम्यवादले समाजमा यस्तो आत्मबोध जगायो कि अब ‘शासक र शासित’को सीमाना मात्रै होइन, मानव र अमानवबीचको दूरी पनि घट्न थाल्यो ।

१. सामाजिक चेतनाको विस्तार

पहिले गाउँको चौतारोमा केवल मुखियाको आवाज सुनिन्थ्यो । तर अब त्यही चौतारोमा किसान, मजदुर, महिला र दलितको आवाज पनि गुञ्जिन थाल्यो । साम्यवादले उनीहरूलाई आवाज मात्रै होइन, स्वरमा आत्मविश्वास दियो । पहिले जो “कम बोल्, ठूला कुरा नगर” भन्ने समाज थियो, त्यो समाज अब “हामी पनि बोल्छौं” भन्ने हिम्मतमा बदलियो । किसानले अब खेतको माटो केवल मालिकको होइन, आफ्नो पनि हो भन्ने बुझ्न थालेका छन् । महिलाले अब घरभित्रको श्रम पनि काम नै हो भन्ने महसुस गर्न थालेका छन् । दलितहरूले अब गर्वका साथ भन्छन् — हाम्रो हातले काम हुन्छ, अपमान होइन । यो चेतना सधैँ प्रदर्शनमा होइन, छोराछोरीलाई विद्यालय वा महाविद्यालयमा भर्ना गर्दाका बखत फारम भर्दा बाबुआमाको मुस्कानमा पनि देखिन्छ ।

२. राजनीतिक रूपान्तरण

साम्यवादले राजनीतिक इतिहासको दिशा बदलेको छ । गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता आदि शब्दहरू केवल कानुनी उपलब्धि होइनन्, आन्दोलनको समयमा भएका बलिदानी र बगेका रगत, पसिना, आँसुको फल पनि हुन् । पहिले देश राजा र दरबारको थियो; अब जनता र संविधानको छ । पहिले धर्म शासनको औजार थियो; अब आस्थाको स्वतन्त्रता बनेको छ । पहिले गाउँ केन्द्रबाट चल्थ्यो; अब गाउँ आफैँ निर्णय गर्छ । साम्यवादी आन्दोलनको यही योगदानले नेपाली राजनीति ‘आज्ञा पालन’ बाट ‘अधिकार प्रयोग’ तिर मोडिएको छ । त्यसैले जब कुनै बूढो कार्यकर्ता निर्वाचनको लाइनमा देखिन्छ, उसको मतपत्रको स्याही केवल चिह्न होइन, इतिहासको हस्ताक्षर हो ।

३. सामुदायिक सहभागिता

साम्यवादले विकास सरकारको उपहार होइन, जनताको अधिकार हो भन्ने सिकायो । गाउँ–गाउँमा सहकारी बने, पँधेरो मर्मत भयो, बारीमा सिँचाइको नाली जोडियो । “हामीसँग पैसा छैन” भन्ने वाक्यलाई “तर हामीसँग हात छन्” मा बदलिदियो । सामूहिक श्रमको त्यो संस्कार जसमा सबैले सहयोगी हातहरूको बल महसुस गर्छन् । त्यो साम्यवादी चेतनाको रूप हो । कुनै गाउँमा महिला समूहले बाटो बनाउँछन्, कुनै युवाहरूले सामूहिक रूपमा विद्यालय रङ्ग्याउँछन् । त्यो विकासको चित्र सरकारी प्रतिवेदनमा होइन, गाउँको हाँसो र पसिनाको मिश्रणमा देखिन्छ ।

४. शिक्षा र स्वास्थ्यप्रति जागरूकता

साम्यवादले शिक्षा र स्वास्थ्यलाई विलास होइन, जीवनको अधिकारको रूपमा परिभाषित गरिदियो । पहिले विद्यालयमा केवल केही घरका बालबालिका पुग्थे, तर अब गाउँका हरेक घरमा “छोराछोरीले पढ्नुपर्छ” भन्ने आवाज उठ्छ । पहिले अस्पताल टाढाको सपना थियो; अब स्वास्थ्य चौकी गाउँकै बाटो छेउमा उभिएको छ । त्यो परिवर्तन केवल भौतिक संरचनामा होइन, मानसिक दृष्टिकोणमा भएको क्रान्ति हो । अब अभावको कथा बोल्ने आमाहरू पनि भन्छिन् — मेरो छोरी डाक्टर बन्नेछिन् । त्यो वाक्य सायद सानो हो, तर त्यसमा एक युगको परिवर्तन लुकेको छ ।

साम्यवादका सीमाहरू र चुनौतीहरू

तर साम्यवाद पनि अन्ततः मानिसकै हातमा चल्ने विचार हो । र मानिस जतिसुकै आदर्श बोकेपनि अपूर्ण नै हुन्छ । विचारले संसार बदल्न सक्छ, तर त्यस विचारलाई जीवन्त राख्ने मान्छे कहिलेकाहीँ थाक्छन्, कहिलेकाहीँ लोभमा पर्छन्, र कहिलेकाहीँ आफ्नै घोषणापत्र बिर्सन्छन् । नेपालमा पनि साम्यवादले चेतना जगायो, तर व्यवहारमा कतैकतै त्यो चेतना सत्ताको छायाँभित्र हराउँदै गएको देखिन्छ ।

१. विचारभन्दा व्यक्ति ठूलो बन्नु

साम्यवादको मूल आत्मा भनेको सामूहिक सोच र समानताको भावना हो । तर व्यवहारमा नेताहरू आफैँ विचारभन्दा ठूला हुन थाले । “हामी सबै समान हौं” भन्ने नारा बिस्तारै “म नै पार्टी हुँ” मा परिणत भयो । अहिलेका धेरै दलभित्र ‘विचारको बहस’ होइन, ‘व्यक्तिको प्रशंसा’ चल्छ । कुनै बेला जनताको घरमा बस्ने नेताहरू अब सुरक्षा घेराभित्र टुँडिखेलका भाषण गर्छन् । जनताले हेर्छन् र सोच्छन् — त्यो समानताको कुरा गर्ने दल यो नै त हो ? त्यही व्यक्तिपूजाले साम्यवादी आन्दोलनभित्र विचारभन्दा व्यक्तित्वको राजनीति जन्मायो, जहाँ आदर्शभन्दा अनुयायित्व ठूलो भयो, र दलभित्रको आलोचनात्मक संस्कृति मरेर गयो ।

२. आर्थिक अस्थिरता

साम्यवादले पूँजीवादको विकल्प खोज्दै एउटा नयाँ आर्थिक न्यायको सपना देखेको थियो । तर जब त्यो सपना व्यवहारमा आयो, त्यो ‘मिश्रित प्रणाली’को जटिलतामा अल्झियो । राज्यले उद्योग चलायो, तर दक्षता हरायो । निजी क्षेत्र खुले, तर समानताको विचार कमजोर भयो । जनतालाई यो “साम्यवाद हो कि नयाँ रूपको पूँजीवाद ?” लाग्न थाल्यो । किसान अझै ऋणमा छन्, मजदुर अझै ठेक्का मोलमोलाइमा काम गर्दैछन्, तैपनि कार्यकर्ताहरू नेताहरूकै ‘समृद्धि’का भाषणमा ताल बजाउँछन् । साम्यवादको अर्थनीति अब घोषणापत्रमा मात्रै बाँकी छ, व्यवहारमा बजारकै नियम चल्छ । तर जनता अझै पनि त्यस घोषणापत्रको पाना विश्वास गर्छन्, किनभने त्यसमा उनीहरूको सपना लेखिएको छ, दु:खद् विडम्बना यही हो ।

३. आदर्शको क्षय

जब साम्यवाद सत्ता नजिक पुग्छ, त्यो विद्रोहको ज्वाला कहिलेकाहीँ आरामको दियोमा बदलिन्छ । अहिलेका धेरै नेताहरूले सत्ताको स्वाद चाखेपछि विचारभन्दा पदलाई प्राथमिकता दिन थाले । पहिले जो ‘जनताको सेवक’ भन्थे, अब “मन्त्री पद नपाएसम्म” असन्तुष्ट देखिन्छन् । त्यो विचारको क्षय केवल नेताको समस्या होइन, त्यो आन्दोलनकै आत्मामा परेको चिरा हो । युवा पुस्ता अब “कहाँ हरायो त्यो सपना, जसका लागि हाम्रा बाबुहरूले जेल सहेका थिए ?” सोध्न थालेका छन् । साम्यवादको आदर्श अझै बाँकी छ, तर त्यसलाई बोक्ने मान्छे कोही सुविधामा, कोही निराशामा थाकेका छन् ।

४. विश्व प्रणालीको चुनौती

आजको संसार खुला बजार, प्रविधि र विश्विकरणको संसार हो । साम्यवादी अर्थनीतिको पुरानो ढाँचा अब नयाँ आर्थिक यथार्थसँग भिड्न कठिन भएको छ । पहिले जसले ‘स्वावलम्बन’को कुरा गर्थे, अब उनीहरू पनि अन्तर्राष्ट्रिय लगानीको दौडमा छन् । प्रविधिले उत्पादनको स्वरूप नै बदलेको छ, र त्यसले “श्रम र पूँजीबीचको द्वन्द्व” लाई नयाँ रूप दिएको छ — अदृश्य र जटिल । नेपाल जस्तो सानो अर्थतन्त्रमा विश्व बजारको हरेक कम्पन महसुस हुन्छ । त्यसैले साम्यवादी सिद्धान्त अब कागजमा होइन, डिजिटल युगको बजारभित्र नयाँ अर्थ खोज्न बाध्य छ ।

निष्कर्ष

साम्यवाद : विचारको पुनर्जागरण

नेपालमा साम्यवादले केवल शासन परिवर्तन गरेन, यसले मानिसको सोच बदल्ने साहस दियो । राजा र प्रजाबीचको दूरी घटायो अर्थात् प्रजाहरू जनता वा नागरिकमा परिणत भए, राजतन्त्रको विधिवत् अन्त्य भयो । वर्ग र जातबीच संवाद शुरु गरायो, र जनतालाई “देश केवल नेताको होइन, हामी सबैको हो ।” भन्ने बुझायो । तर साम्यवादको योगदान केवल राजनीतिक क्रान्तिमा सीमित छैन । यसले नेपालमा शब्दभन्दा गहिरो परिवर्तन ल्यायो, वर्गसंघर्षको नारा मात्रै होइन, मानवताको बोध, अधिकारको भाषा, र सामूहिकता खोज्ने आत्मा जगायो । त्यो चेतना आज पनि कहिलेकाहीँ विरोधको नारा बनेर, कहिलेकाहीँ किसानको पसिना बनेर, कहिलेकाहीँ आमाबुबाको सपनामा जन्मिएको मुस्कान बनेर बाँचिरहेको छ । त्यो चेतना अब राजनीतिक पाटीको स्वामित्वमा छैन, जनताको जीवनको दैनिकीमा मिसिएको छ ।

तर समय बदलिएको छ । आजको साम्यवाद भाषणमा होइन, व्यवहारमा देखिनुपर्छ । समानता केवल घोषणापत्रको वाक्य होइन, जनताको जीवनमा महसुस हुने यथार्थ बन्नुपर्छ । यी सबै सीमाहरूले साम्यवादले भोगेका चुनौतीहरू केवल “प्रणालीका गल्ती” होइनन्, त्यो मानवीय स्वभाव, समय, र यथार्थबीचको संघर्ष हुन् भन्ने नै देखाउँछन् । विचार अझै साँचो छ, तर त्यसलाई जोगाउने मानिसहरू कोही स्वार्थमा भ्रष्ट भए, कोही निराशामा थकित छन् । र धेरैले आफ्नो नारा नै बिर्सँदै गए । साम्यवाद केवल सत्ता लिनका लागि होइन, समानता जोगाउनका लागि जन्मिएको विचार हो । र त्यो समानता अहिले पनि जनताको आँखामा आशाको एउटा सानो ज्वालाको रूपमा बाँचिरहेको छ । जो अझै बुझ्न सकिएको छैन र निभेको पनि छैन । साम्यवाद अझै मरेको छैन । केहीका लागि त्यो कुर्सीमा बाँचिरहेको छ । तर धेरैको चेतनामा बाँचिरहेको छ । जहाँ कुनै बालक विद्यालय जान नपाउँदा आमा रुन्छिन्, जहाँ कुनै मजदुर आफ्नो ज्यालाको हक खोज्छ, त्यहीँ साम्यवाद शान्त तर दृढ स्वरमा बोलिरहेको हुन्छ — मानवभन्दा माथि कुनै वर्ग हुँदैन ।

नेपालमा साम्यवादको भविष्य

नेपालमा साम्यवादको भविष्य अब यसको नारा वा झण्डामा होइन । यसको नैतिकता, मानवीय जिम्मेवारी, र आत्मपरीक्षणको क्षमतामा निर्भर हुनेछ । अब विचारले केवल वाचा होइन, विश्वास दिनुपर्छ । जनतालाई नयाँ घोषणापत्र होइन, जीवनमा महसुस हुने परिवर्तन चाहिएको छ । साम्यवादको भविष्य तब उज्यालो हुनेछ, जब नेताहरू जनतालाई सम्झाउने होइन, सुन्न थाल्नेछन् । जब दलका कोठाभन्दा गाउँको चौतारो ठूलो हुनेछ । र जब समानता केवल भाषणको शब्द होइन, शिशुका आँखा र किसानका पसिनामा देखिने वास्तविकता बन्नेछ ।

आजको नेपालमा साम्यवादले विश्वव्यापी पूँजीवादको तीव्र गति, प्रविधिको प्रभुत्व, र व्यक्तिगत स्वार्थको भीडभाडमा मानवीय आत्मा हराउने डर जस्ता नयाँ चुनौती सामना गरिरहेको छ । तर हरेक कठिनाइभित्र अवसर लुकेको हुन्छ । साम्यवादले यदि फेरि समानता, श्रमको सम्मान, र नागरिक सशक्तिकरण लगायतका आफ्ना मूल आदर्शहरूलाई नयाँ अर्थमा पुनर्जीवित गर्न सक्यो भने यो देश फेरि एउटा नयाँ अध्यायमा प्रवेश गर्नेछ । त्यो अध्यायमा विकास केवल भवन र सडकमा नापिने छैन, बरु जनताको अनुहारमा झल्किने सन्तुष्टि र आत्मसम्मानमा मापन हुनेछ । त्यो दिन साम्यवाद केवल राजनीतिक विचार नभएर जीवनको स्वभाव बन्नेछ, जहाँ समानता नीति होइन, मानव बाँच्ने सामान्य अवस्था हुनेछ । भविष्यको साम्यवादले अब चर्को भाषण होइन, शान्त र सत्यनिष्ठ जीवन खोज्छ । असमानता हटाउने योजनाभन्दा पनि न्याय महसुस हुने व्यवहार चाहन्छ । श्रमिकको हात, शिक्षकको कलम, किसानको बीउ आदि सबैले एउटै सन्देश दिनुपर्छ — हामी आफ्नै देशका निर्माता हौँ ।

अन्ततः, साम्यवादको भविष्य नेपालको सामूहिक विवेकको दिशा हुनुपर्छ, केवल दलको भाग्य होइन । यदि हामीले विचारलाई नारा होइन, आचरणको विषय बनायौँ, यदि हामीले सत्ता होइन, सेवा र समानतालाई प्राथमिकता दियौं, त्यो दिन साम्यवाद फेरि राजनीतिक सिद्धान्तको रूपमा होइन, मानवताको पुनर्जागरणको रूपमा अर्थपूर्ण हुनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।