कोशी प्रदेश सभामा रहेका राप्रपाका सांसदहरूले सार्वजनिक रूपमा राजीनामा घोषणा गरे पनि तलब–भत्ता भने निरन्तर लिएको खुलासा
विराटनगर । कोशी प्रदेश सभामा रहेका राप्रपाका सांसदहरूले सार्वजनिक रूपमा राजीनामा घोषणा गरे पनि उनीहरूले असोज महिनाको तलब–भत्ता भने निरन्तर लिएको खुलासा भएको छ।
प्रदेश सभा सचिवालयका कार्यवाहक सचिव गौतमराज अमात्यका अनुसार असोजको तलब तथा सुविधाको रकम सबै सांसदका व्यक्तिगत खातामा प्रवेश गरिसकेको छ। ‘राजीनामासम्बन्धी कुनै पनि पत्र हामीकहाँ दर्ता भएको छैन,’ उनले भने, ‘औपचारिक राजीनामा नआउँदा तलब–भत्ता काट्ने आधार नै बनेन।’
राप्रपाले कोशी प्रदेशमा पाँच जना सांसद र सभामुख अम्बरबहादुर विष्टमार्फत राजीनामाको घोषणा गरेको थियो। तर सचिवालयका अनुसार सांसदहरूका स्वकीय सचिवहरूको तलब तथा सुविधा समेत सबैजनाले प्राप्त गरिसकेका छन्।
अमात्य भन्छन्, ‘प्रदेशको कानुनले तलब–भत्ता दिनैपर्छ भन्छ। कानुनी व्यवस्था खारेज नभएसम्म सचिवालयले यसलाई रोक्न सक्दैन।’
जेनजी आन्दोलनपछि सुशीलाकार्की नेतृत्वको अन्तरिम सरकारले अनुत्पादक खर्च कटौती गर्ने घोषणा गरेको थियो, जसअनुसार सांसदका स्वकीय सचिव हटाउने निर्णय पनि गरिएको थियो। त्यसैबीच पक्का तथ्यांकअनुसार गत आर्थिक वर्षमा कोशी प्रदेशका स्वकीयमा मात्रै ३ करोड ७४ लाखभन्दा बढी खर्च भएको थियो।
भदौ २४ गतेको जेनजी विद्रोह र त्यसअघि तथा पछाडि देखिएको दमनका कारण राप्रपाले संघीय र प्रदेश दुवै तहका सांसदहरूले सामूहिक राजीनामा दिने घोषणा गरेको थियो। तर सो निर्णय घोषणा मात्रैमा सीमित भएको देखिन्छ।
राप्रपाका कतिपय कार्यकर्ताले प्रदेश खारेजीको माग गर्दै आएका पार्टी नेतृत्वले आफूले भनेकै निर्णय कार्यान्वयन नगरेको भन्दै आलोचना गरेका छन्।
यद्यपि कोशीकी राप्रपा सांसद सविना बजगाई भने घर–सम्पत्ति जलेर नष्ट भएको, आगजनी र लुटपाटको ठूलो क्षति भएको कारण तत्काल राजीनामा नदिने बताउँदै आएकी छन्। ‘पार्टीले विज्ञप्ति जारी गरे पनि हामीले औपचारिक रूपमा राजीनामा बुझाएका छैनौँ,’ उनले भनिन्, ‘हाम्रा घरै खाली छन्, त्यस्तो परिस्थितिमा केही समय संसदमा बसेरै जाने कि भन्ने छलफल छ।’
कोशी प्रदेशमा राप्रपाका पाँच सांसद—भक्तिप्रसाद सिटौला, सविना बजगाई, गोपालबहादुर विश्वकर्मा, निमसरी राजवंशी, प्रेमराज थामसुहाङ—र सभामुख अम्बरबहादुर विष्ट रहेका छन्।
राप्रपाले सातै प्रदेशका २८ जना प्रदेश सांसदले राजीनामा दिने घोषणा गरेका थिए। तीमध्ये बागमती प्रदेशका सभामुख भुवनबहादुर पाठकले मात्र औपचारिक राजीनामा गरिसकेका छन्।


