अविरल वर्षापछि अबरूद्द आहाले महाभारत जोड्ने सडक खण्डमा धमाधम सरसफाई
हिराराज राई,धनकुटा । गत असोज १८ र १९ गते परेको अविरल वर्षाबाट अबरूद्द भएको धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ९ स्थित चाँदीबजारदेखि कटहरे, रिम्बुङटोल, थाप्चुवा, खयरबोटे हुँदै साँगुरीगढी गाउँपालिकाको वडा नं. ८ खुँडी जोड्ने सडकमा अहिले सरसफाई तथा मर्मतकार्य भइरहेको छ।
लगातार वर्षाका कारण सडकका विभिन्न स्थानमा पहिरो खसेको र माटो थुप्रिएर यातायात अवरुद्ध भएको थियो। अहिले स्थानीयवासी, वडाको पहल र गाउँपालिकाको सहकार्यमा सडक सफा गर्ने तथा सवारी सञ्चालन सुचारु गर्ने प्रयास जारी रहेको छ।
सडक खुलाउन जनप्रतिनिधि र स्थानीय युवाहरुको संयुक्त टोली खटिएको छ। गाउँपालिकाले जेसिवि परिचालन गरेर सडक यथाशीघ्र सञ्चालनमा ल्याउने तयारी गरेको जनाएको छ।
यस सडकखण्ड आहाले र महाभारत क्षेत्रलाई जोड्ने मुख्य पहुँचमार्ग भएकोले स्थानीय बासिन्दाको आवतजावत, व्यापार र कृषि उत्पादनको ढुवानीमा महत्वपूर्ण भूमिका खेल्ने गरेको पाइन्छ।



