झापामा पौडी खेल्ने क्रममा एक जना गम्भीर घाइते
झापा । झापाको कन्काई नगरपालिका–७ बस्ने ३६ वर्षीय चन्दन मुर्मु पौडी खेल्ने क्रममा गम्भीर घाइते भएका छन् ।
मिति २०८२ साल कार्तिक २२ गते दिउँसो करिब २ बजेर ३० मिनेटको समयमा मुर्मु झापा गाउँपालिका–३ सिमलबाडीस्थित आफ्नी फुपूको घरमा ‘मरिमराउ’ कामका लागि गएका थिए ।
त्यही क्रममा सिमलबाडीको सानो माईखोलामा पौडी खेल्ने क्रममा उनले उल्टो जम्प हान्दा गर्दन भाँचिएको र टाउकोमा समेत चोट लागेको प्रहरीले जनाएको छ ।
घाइते मुर्मुलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बिर्ता सिटी अस्पताल पठाइएको छ, जहाँ उनको अवस्था गम्भीर रहेको बताइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ भने उपचारमा उनका दाइ डिची मुर्मु संलग्न रहेका छन् ।


