देश जलाउने अराजक जेनजीहरु नै अहिले देश चलाउन आएका छन् :ओली
काठमाडौ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनका नाममा देशलाई अस्थिर बनाउने प्रयास भइरहेको आरोप लगाएका छन्। आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघ नेपालको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले असंवैधानिक रूपमा सत्ता कब्जा र प्रतिनिधिसभा विघटनका प्रयास हुँदै आएको बताएका हुन्।
ओलीले भने, “जेनजी आन्दोलनका नाममा देश जलाउनेहरू नै अहिले देश चलाउन भनेर आएका छन्।” उनका अनुसार अहिलेको राजनीतिक परिस्थिति राष्ट्रका लागि अनिष्ठपूर्ण बनेको छ र यस्तो अवस्था लामो समय रहन नहुने चेतावनी उनले दिए।
अध्यक्ष ओलीले आन्दोलनका क्रममा अपराधमा संलग्न व्यक्तिहरूको पहिचान भएर पनि कारबाही नभएको दाबी गरे। “प्रहरीले प्रमाणसहित पक्राउ गरेका अपराधीलाई समेत सरकारले छाड्ने आदेश दिएको छ,” उनले भने।
उनका अनुसार एमाले सडकमा तोडफोड वा आगो लगाउन होइन, संविधान, शान्ति र लोकतन्त्रको रक्षा गर्न उत्रिनेछ। “हामी आन्दोलनका लागि प्रशासनसँग अनुमति माग्दैनौं। शान्तिपूर्ण आन्दोलन हाम्रो संवैधानिक अधिकार हो, सिडिओको आदेश संविधानभन्दा माथि हुँदैन,” ओलीले जोड दिए।
एमाले अध्यक्ष ओलीले अहिले जनतामा भय र असुरक्षाको वातावरण सिर्जना गरिएको भन्दै युवाहरूमाथि देशको सुरक्षाको जिम्मेवारी आएको बताए। उनले लोकतन्त्र र जनअधिकारको रक्षा गर्न युवाहरूलाई सजग र सशक्त भएर उभिन आह्वान गरे।


