मनाङमा तीन सातादेखि सम्पर्कविहीन रहेका दुई भारतीय पर्यटक मृत फेला
मनाङ । तीन सातादेखि सम्पर्कविहीन रहेका दुई भारतीय पर्यटक मनाङमा मृत फेला परेका छन्। मृत भेटिनेमा ५२ वर्षीय जिग्नेसकुमार लल्लुभाई पटेल र उनकी १७ वर्षीया छोरी प्रियन्साकुमारी पटेल रहेका छन्। दुवैको शव मनाङ ङिस्याङ गाउँपालिका–५ स्थित मिलेरेपा गुम्बामाथि हिउँले पुरिएको अवस्थामा भेटिएको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिएका छन्।
सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक हीराबहादुर जिसीको नेतृत्वमा खटिएको उद्धार टोलीले आइतबार बिहान गुम्बाभन्दा करिब १०० मिटरमाथि दुवैको शव भेट्टाएको हो। शव हाल प्रदेश अस्पताल मनाङमा राखिएको र सोमबार त्रिवि शिक्षण अस्पताल, काठमाडौँमा पठाउने तयारी भइरहेको प्रशासनले जनाएको छ।
जिग्नेसकुमार र प्रियन्साकुमारी कात्तिक ३ गते मनाङ ङिस्याङ गाउँपालिका–४ को ग्याल्सेन होटलबाट गुम्बा घुम्न गएका थिए। तर, सोही दिनदेखि उनीहरू सम्पर्कविहीन भएका थिए। होटल व्यवस्थापनले उनीहरू फर्किन ढिलो भएपछि सशस्त्र प्रहरी बल र नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङलाई जानकारी दिएको थियो।
मनाङमा पछिल्लो समय लगातार हिमपात भइरहेको छ, जसका कारण पदयात्रा र पर्यटक आवागमन जोखिमपूर्ण बनेको छ। प्रशासनले हिमाली क्षेत्रमा यात्रा गर्दा मौसम र सुरक्षाको अवस्था अनिवार्य जाँच गरी मात्र यात्रा गर्न आग्रह गरेको छ।
स्थानीय प्रशासन र सशस्त्र प्रहरी बलले यो घटनालाई दुखद भन्दै हिमाली क्षेत्रमा हिउँडिँदा मौसम पूर्वानुमान र स्थानीय सल्लाहलाई प्राथमिकता दिन सर्वसाधारणलाई सचेत गराएको छ।


