दानबहादुर कार्की प्रहरी महानिरीक्षकमा नियुक्त
काठमाडौ । नेपाल प्रहरीले नयाँ नेतृत्व पाएको छ। सरकारले एआईजी दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (IGP) मा नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिएका छन्।
वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ प्रहरी नियमावलीअनुसार ३० वर्षे सेवा अवधि पूरा गरी कात्तिक २६ गते राति १२ बजेदेखि अनिवार्य अवकाशमा जाँदैछन्। त्यसअघि नै सरकारले नयाँ नेतृत्व चयन गर्दै कार्कीलाई जिम्मेवारी सुम्पिएको हो।
कार्की हाल काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत थिए। उनले विगतमा लुम्बिनी प्रदेश कमाण्ड, मानव स्रोत साधन विभाग र काठमाडौं जिल्ला प्रहरी परिसर लगायतका चुनौतीपूर्ण जिम्मेवारी सम्हालेका छन्। भुटानी शरणार्थी प्रकरणदेखि जेनजी आन्दोलनसम्मका संवेदनशील घटनामा संयमित नेतृत्व देखाएका उनी इमानदार र व्यावसायिक प्रहरी अधिकृतका रूपमा परिचित छन्।
फिल्डदेखि प्रहरी प्रधान कार्यालयसम्मको लामो अनुभव बोकेका कार्की कुनै पनि आर्थिक विवादमा नपरेका अधिकारीका रूपमा चिनिन्छन्। उनले विदेशमा विभिन्न सुरक्षा तालिम लिइसकेका छन् र नेपाल प्रहरीका पूर्व केन्द्रीय प्रवक्ता समेत रहिसकेका छन्। नयाँ नेतृत्वसँग प्रहरी संगठनमा अनुशासन, विश्वसनीयता र जनविश्वास पुनःस्थापनाको अपेक्षा गरिएको छ।


