महागुरु फाल्गुनन्दको १४१औं जन्मजयन्तिको अवसरमा कोशी प्रदेशमा आज सार्वजनिक बिदा
विराटनगर, २५ कार्तिक । कोशी प्रदेश सरकारले महागुरु फाल्गुनन्द लिङदेनको १४१औं जन्मजयन्तिको अवसरमा आज (कात्तिक २५ गते, २०८२) सार्वजनिक बिदा दिएको छ।
महागुरुको धर्म, संस्कृति र समाज सुधारमा पुर्याएको उल्लेखनीय योगदानप्रति सम्मान व्यक्त गर्दै प्रदेशभरका सरकारी कार्यालय, विद्यालय र सार्वजनिक निकायहरू आज बिदामा रहेका छन्।
यसै अवसरमा मोरङको लेटाङ–४ स्थित किरात हाङ्साम माङ्हिममा विशेष कार्यक्रम आयोजना गरिएको छ।
कार्यक्रममा स्थानीय समुदाय, विद्यार्थी, धर्मगुरु र विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहनेछ।
महागुरुको सत्य, अहिंसा, सदाचार र प्रकृतिप्रतिको श्रद्धा भन्ने सन्देशलाई आत्मसात् गर्दै सहभागीहरूले किरात धर्म र संस्कृतिको जगेर्ना गर्न प्रतिबद्धता जनाउने तयारी गरेका छन्।
आयोजक समितिका अनुसार आजको कार्यक्रममा मुन्धुम वाचन, सामूहिक पूजापाठ, सांस्कृतिक झाँकी, नृत्य–संगीत र मन्तव्य कार्यक्रम रहनेछ।
महागुरु फाल्गुनन्दको जन्मजयन्ति किरात समुदाय मात्र होइन, सम्पूर्ण नेपाली समाजका लागि सत्य, समानता र सद्भावको प्रतीक दिवसका रूपमा मनाइन्छ।
उनको शिक्षाले आज पनि समाजलाई शान्ति, सहअस्तित्व र सहिष्णुताको बाटोमा अघि बढ्न प्रेरणा दिइरहेको छ।


