मोरङको उर्लाबारीमा सवारी दुर्घटना,एक महिला घाइते
उर्लाबारी । मोरङको उर्लाबारी–८ निवासी रमला आचार्य हिजो भएको सडक दुर्घटनामा गम्भीर रूपमा घाइते भएकी छन्।
उर्लाबारी क्याम्पसको दक्षिणतर्फको पूर्व–पश्चिम राजमार्गमा पूर्वतर्फबाट आइरहेको सुपर जनसेवा यातायातको बस रोकिएपछि पछाडिबाट आउँदै गरेको स्कुटी सडकमा बजारिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा स्कुटीमा सवार रमला आचार्य घाइते भएकी हुन्।
दुर्घटनापछि उनलाई स्थानीय अरनिको अस्पतालमा प्रारम्भिक उपचार गराई थप उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल रिफर गरिएको हो। उनका श्रीमान् ध्रुव आचार्यका अनुसार रमलाको टाउको र खुट्टामा चोट लागेको छ र हाल उनको अवस्था गम्भीर रहेकाले आइसीयू कक्षमा उपचार भइरहेको छ।
घटनापछि अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ।


