तोकिएको स्थानीय भत्ता पाउनुपर्ने चैनपुरका शिक्षकहरूको माग
खड्ग आले मगर,संखुवासभा । स्थानीय भत्ताको सन्दर्भमा सङ्खुवासभाको चैनपुर नगरपालिकामा कार्यरत शिक्षकहरूले आज वृहत् छलफल अघि बढाएका छन् ।
शिक्षकहरूले स्थानीय भत्ता पाउने जिल्लामा सङ्खुवासभा पनि उल्लेख गरिएको तर तोकिएको सबै स्थानीय तहले शिक्षकहरूलाई स्थानीय भत्ता उपलब्ध नगरेपछि शिक्षकहरू आफ्नो अधिकार प्राप्तिका लागि कानूनी लडाइँ लडेरै भए पनि आफूले पाउनुपर्ने अधिकार लिएरै छाड्ने अडानमा एकजुट भएका छन् ।
यसका लागि सम्बन्धित स्थानीय तहलाई अनुरोध गर्ने तर सुनुवाइ नभए कानूनी लडाइँ लड्न तयार रहने शिक्षकहरूले जनाएका छन् । चैनपुर नगरपालिका ‘ग’ वर्गको स्थानीय भत्ता पाउने स्थानीय तहमा पर्दछ ।
नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७१/०३/२९ को निर्णयअनुसार मिति २०७१ साउन १ गतेदेखि लागू हुनेगरी स्वीकृत गरेको अनुसूची १० मा स्थानीय भत्ता र भत्ता पाउने स्थानहरूको स्पष्ट यकिन गरिएको छ । यही आधारमा केही स्थानीय तहहरूले शिक्षकहरूलाई स्थानीय भत्ता उपलब्ध गराउँदै आइरहेका छन् भने केही स्थानीय तहहरू आजसम्म पनि मौन रहेका छन् । यो कत्तिको न्यायसङ्गत छ ?
तोकिएको क्षेत्रमा स्थानीय भत्ता पाउनु शिक्षकहरूको अधिकार हो तर यहाँ अधिकार प्राप्ति त्यति सजिलै हुँदैन । विगतदेखिनै शिक्षकहरू पटकपटक अधिकार प्रातिका लागि आन्दोलनमा उत्रिनु परेको, सङ्घर्षको मैदानमा लड्नु परेको कैयन तिता अनुभव छन् । सबै राष्ट्रसेवक कर्मचारीहरूलाई समान व्यवहार गर्नु राज्यको कर्तव्य हो तर सरकारले शिक्षकहरूलाई अझै पनि समान व्यवहार गर्न सकिरहेको छैन । योभन्दा लज्जास्पद र दु:खद कुरा अरू के होला र !
सबै स्थानीय तह शिक्षकहरूको स्थानीय भत्ताको सन्दर्भमा मौन छन् भन्ने पनि होइन । केही समयअगाडि मात्रै भोजपुरको रामप्रसादराई गाउँपालिकाले शिक्षकहरूलाई स्थानीय भत्ता उपलब्ध गराएको थियो । यससँगै देशका अन्य केही स्थानीय तहहरूले पनि यो भत्ता उपलब्ध गराउँदै आएको अवस्था छ तर सबै स्थानीय तहले यसलाई लागू गरिरहेको देखिँदैन । तसर्थ शिक्षकहरू अधिकार प्राप्तिका लागि सङ्घर्षको मैदानमा उत्रिन बाध्य बनेका छन् ।
यसैको उपज हो, चैनपुर नगरपालिकामा आज भएको शिक्षकहरूको वृहत् छलफल । आशा गरौँ, यस छलफलले शिक्षकहरूलाई न्याय प्राप्तिको दिशामा अगाडि बढाउनेछ, पाउनुपर्ने स्थानीय भत्ता शिक्षकहरूले पाउनेछन् ।


