ताप्लेजुङमा लडेर एक बालिकाको मृत्यु
ताप्लेजुङ । ताप्लेजुङको हाङदेवामा लडेर एक बालिकाको मृत्यु भएको छ ।मृत्यु हुनेमा फुङलिङ नगरपालिका १० फुरुम्बुका बीर बहादुर नुगो (सुविदार साइला)का ७ वर्षीया छोरी अर्पणा नुगो लिम्बू रहेकी छन् ।
फुङलिङ नगरपालिका ९ हाङदेवामा डेरा गरि बसेका बालिकाको शुक्रबार साँझ लडेर घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रोहित शर्मा बढईले जानकारी दिए । उनका अनुसार निर्माणधीन मादेन वंशको माङहिम मन्दिरबाट लडेर बालिकाको मृत्यु भएको हो ।
घटना लगत्तै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी निरीक्षक जट्टा शंकर यादबको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको थियो । उक्त टोलीले शवको कानूनी प्रक्रिया पुरा गरेर शव सदरमुकाम ल्याएको प्रहरीको भनाइ छ ।
जिल्ला अस्पताल ताप्लेजुङको शव गृहमा राखिएको शवको पोष्टमार्टम गरि आफन्तको जिम्मा लगाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।


