झापामा आफ्नै शरीरमा आगो लगाएका वृद्धको मृत्यु
झापा । झापाको बुद्धशान्ति गाउँपालिका–६ सन्तपुरमा आफ्नै शरीरमा आगो लगाएका वृद्धको मृ,त्यु भएको छ । ८४ वर्षीय डिल्लीराम अधिकारीको मृत्यु भएको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले बताए ।
उनका अनुसार शुक्रबार राति ११ः३० बजेतिर अधिकारीले शरीरमा पेट्रोल छर्किएर आफैंलाई आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । घरबाहिर आगनमा गएर पेट्रोल खन्याई शरीरमा आगो लगाइएका अधिकारीलाई छोरा भोगेन्द्र अधिकारीले अचेत अवस्थामा फेला पारेर प्रहरीलाई खबर गरे ।
डीएसपी खड्काका अनुसार अधिकारीको घटनास्थलमै मृत्यु भएको हो । शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुरमा राखिएको जानकारी उनले दिए ।
परिवारका अनुसार डिप्रेसनको उपचार गराइरहेका अधिकारीले केही महिनाअघि प्रोस्टेटसम्बन्धी शल्यक्रिया पनि गरेका थिए । परिवारजनले पनि उनको घटनास्थलमै मृत्यु भइसकेको बताएका छन् ।


