झापामा अवैध रूपमा ल्याइएको ४१७ केजी माछा बरामद गरि नष्ट
झापा,मंसिर २१ । झापा जिल्लाको कन्काई नगरपालिकास्थित सव–डिभिजन वन कार्यालय नजिकैबाट अवैध रूपमा ल्याइएका माछा प्रहरीले बरामद गरेको छ।
आज बिहान ११:२० बजे इप्रका सुरुङ्गाबाट खटिएको प्रहरी टोली, प्र.ना.नि. सुवास ढुंगानाको नेतृत्वमा गस्तीका क्रममा भन्सार छली तथा क्वारेन्टिनसमेत नगरी ल्याइएका माछा बेवारिसे अवस्थामा फेला पारेको हो।
प्रहरीका अनुसार बरामद माछामा मुङरी, सिलन, रहु र बम्प्लेट गरी कुल ४१७ केजी माछा रहेका छन्, जसको अनुमानित मूल्य रु. १,५०,००० रहेको छ।
सम्बन्धित कानुनी प्रक्रिया पूरा गरी बरामद माछा जिल्ला प्रहरी कार्यालय झापामा नष्ट गरिएको प्रहरीले जनाएको छ।


