लेटाङमा बिग्रिएको थ्रेसरबाट आगलागी, डेढ विगाहाको पराल नष्ट
लेटाङ, २६ मंसिर । लेटाङ नगरपालिका–२ मा धान झार्ने क्रममा थ्रेसरबाट आकस्मिक रूपमा आगो सल्किँदा डेढ विगाहाभन्दा बढी क्षेत्रफलमा संकलित पराल जलेर नष्ट भएको छ। स्थानीय धनञ्जय अधिकारीको जग्गा ठेक्कामा लिएर खेती गर्दै आएका दिलकुमार याख्खाको धान झार्ने क्रममा थ्रेसरमा समस्या देखिएपछि आगो फैलिएको हो।
आगलागीका कारण याक्खाले संकलन गरेको १० कठ्ठा क्षेत्रफल बराबरको पराल पूर्ण रूपमा नष्ट भएको छ। पराल जलेपछि अब ठेक्का तिर्नै कठिन भएको याख्खाले दुखेसो छाडे।
“यसपालि २० हजारको धान पनि फलिएको थिएन, ४/५ हजारकै भर पर्ने पराल पनि जलेर सकियो, अब ठेक्का कसरी तिर्ने भन्ने चिन्ता छ,” उनले भने।
आगो फैलिँदा नजिकै रहेका मदन बरालले संकलन गरेको १ विगाहाको परालको ढेंडी समेत पूर्ण रूपमा जलेको छ। प्रत्यक्षदर्शीका अनुसार बिग्रिएको थ्रेसर चलाइएकै कारण आगलागी भएको हो। ट्रयाक्टर चालकले समेत व्यारिङ बिग्रिएको स्वीकार गरेका छन्।
स्थानीयले तत्काले आगो नियन्त्रणमा ल्याउने प्रयास गरे पनि पराल धेरै भएकाले क्षति ठूलो भएको बताइएको छ।-लेटांग खबर


