विराटनगरमा तीन वर्षदेखि प्रहरीको गोदाममा थन्किएको तीन हजार किलो गाँजा जलाएर नष्ट
विराटनगर । पछिल्ला तीन वर्षको अवधिमा विराटनगरका विभिन्न स्थानबाट बरामद गरिएको ठूलो परिमाणको गाँजा शनिबार विराटनगरमा आगो लगाएर नष्ट गरिएको छ ।
आर्थिक वर्ष २०७८–०७९ देखि चालु आर्थिक वर्ष २०८२–०८३ को हालसम्म इलाका प्रहरी कार्यालय रानी तथा त्यसअन्तर्गतका युनिटहरूले बरामद गरेको गाँजा एकै ठाउँमा संकलन गरी नष्ट गरिएको हो । प्रहरीका अनुसार विभिन्न समयमा लागूऔषध कारोबार नियन्त्रणका क्रममा बरामद गरिएको गाँजा मुद्दा प्रक्रियाका कारण लामो समयसम्म गोदाममा राखिएको थियो ।
अदालतको आदेश र आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि शनिबार दिउँसो विराटनगर महानगरपालिका–१६ स्थित दरैयामा आगो लगाएर गाँजा नष्ट गरिएको प्रहरीले जनाएको छ । नष्ट गरिएको गाँजा तीन हजार किलो रहेको प्रहरीको भनाइ छ ।
इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राईले पूर्ण रूपमा कानुनअनुसार गाँजा नष्ट गरिएको बताए । जिल्ला अदालत मोरङका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि तथा प्रहरी अधिकारीहरूको उपस्थितिमा गाँजा जलाएर नष्ट गरिएको छ।


