अंशु गौतमको हत्या प्रकरणपछि आरोपी अधिकारीको परिवार गाउं छोड्न बाध्य
मोरङ । मोरङको लेटाङ नगरपालिकामा १२ वर्षीया अंशु गौतमको बलात्कारपछि हत्या प्रकरणले आरोपी पदमबहादुर अधिकारीको परिवारलाई समेत प्रभावित बनाएको छ। घटनामा संलग्न रहेको आरोपमा ५९ वर्षीय अधिकारी पक्राउ परेपछि उनका परिवारजन गाउँ छाड्न बाध्य भएका छन्।
प्रहरीले मंसिर १८ गते अधिकारीलाई नियन्त्रणमा लिएर सार्वजनिक गरेसँगै लेटाङमा तनावपूर्ण अवस्था सिर्जना भएको थियो। त्यसपछि आक्रोशित स्थानीयको समूहले २१ गते साँझ अधिकारीको घरमा आक्रमण र तोडफोड गरेको वडा नम्बर २ का अध्यक्ष तेजप्रसाद तिम्सिनाले जानकारी दिए। उनका अनुसार सो आक्रमणबाट घरमा भौतिक क्षति पुगेको छ।
निरन्तर असुरक्षा महसुस भएपछि अधिकारीकी श्रीमती, तीन छोरी र एक छोरा गाउँमै बस्न नसक्ने अवस्थामा पुगेका हुन्। परिवारका सदस्यहरूले घरभित्र रहेका लत्ता–कपडासमेत निकाल्न नपाएको बताएका छन्। खेतीयोग्य सानो जमिन रहे पनि त्यहाँ पुग्न नसकिएको उनीहरूको गुनासो छ।
प्रहरी हिरासतमा रहेका अधिकारीमाथि कर्तव्य ज्यान र जबरजस्ती करणीसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ। यसैबीच, उनका छोरा यसअघि जबरजस्ती करणी प्रयाससम्बन्धी मुद्दामा दोषी ठहर भई कैद भुक्तान गरेर कार्तिक १८ गते मात्र कारागारबाट मुक्त भएका थिए।
घटनापछि अधिकारीकी श्रीमती हाल सुन्दरहरैँचाको खोर्सानेस्थित छोरीको घरमा आश्रय लिएर बसिरहेको बताइएको छ।


