झापामा दुई नाबालिकामाथि जबरजस्ती करणी आरोपमा दुई युवक पक्राउ
झापा । झापाको भद्रपुरमा दुई नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा दुई युवक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मंसिर २७ गते १५ वर्षीया साङ्केतिक नाम ब–१ र १३ वर्षीया साङ्केतिक नाम भ–१ घरबाट बेपत्ता भएका थिए। मंसिर २९ गते जाहेरवालाले उनीहरूलाई फेला पारी सोधपुछ गर्दा मेला घुम्ने क्रममा भद्रपुर–५ का २१ वर्षीय अक्षय सापकोटा र भद्रपुर–३ का २३ वर्षीय विवेक राईसँग भेट भएको र उनीहरूले ललाइफकाइ गरी अक्षय सापकोटाको घरमा लगेका थिए भन्ने खुलेको प्रहरीले जनाएको छ।
पीडितहरूको बयानअनुसार मंसिर २८ गते दिउँसो करिब १२ः३० बजे प्रतिवादीहरूले दुई नाबालिकालाई छुट्टाछुट्टै कोठामा राखी जबरजस्ती करणी गरेका थिए। यस घटनामा संलग्न रहेको आरोपमा विवेक राईलाई साङ्केतिक नाम ब–१ लाई करणी गरेको अभियोगमा पुस १ गते पक्राउ गरिएको हो। त्यस्तै, अक्षय सापकोटालाई साङ्केतिक नाम भ–१ लाई करणी गरेको आरोपमा आज पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवैलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।


