बलात्कारपछि हत्या गरिएकी लेटाङकी १२ वर्षीया अंशु गौतमका अभिभावक र आफन्तलाई मोरङका सुरक्षा अधिकारीले भेटे
लेटाङ । मोरङका सुरक्षा अधिकारीहरुले बलात्कारपछि हत्या गरिएकी मोरङको लेटाङ नगरपालिका–२ फडानीकी १२ वर्षीया अंशु गौतमका अभिभावक र आफन्तलाई भेटेका छन् ।
मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी पवनराज कोइराला नेतृत्वको टोलीले बुधबार अंशुको काजकिरिया भइरहेको घरमै पुगेर अभिभावक एवं आफन्तलाई भेट्दै समवेदना र श्रद्धाञ्जली अर्पण गरेका हुन् । अंशुको घरमा निमित्त प्रजिअ कोइरालासहित मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल, राष्ट्रिय अनुसन्धान कार्यालय मोरङका प्रमुख एसपी राजन शर्मा सापकोटा सहितको टोली पुगेको थियो ।
टोलीले अंशुकै घरमा पुगेर उनीप्रति श्रद्धाञ्जली अर्पण गरी परिवारजनमा समवेदना प्रकट गरेको हो । सुरक्षा अधिकारीको टोलीले जनप्रतिनिधि तथा स्थानीयसँग घटनाको विषयमा छलफलसमेत गरेको छ ।
छलफलमा बोल्दै लेटाङ नगरपालिकाका मेयर भूपेन्द्रकुमार लावतीले सुरक्षा निकायको मिहिनेत र स्थानीयको सहयोगका कारण घटनामा संलग्नको पहिचान भएको बताए । उनले घटनामा संलग्नको खोजीमा खटिने र साथ दिने सबैलाई धन्यवाद दिए ।-बेतना दैनिक


