ओलीको लिखित बयान: २४ भदौको घटनामा सेना परिचालन गर्न चाहेको खुलासा
काठमाडौँ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २३ र २४ भदौको घटना छानबिन गर्न गठित आयोगलाई आइतबार लिखित बयान बुझाउँदै उक्त दिनको अवस्था नियन्त्रणमा लिन आफूले नेपाली सेना परिचालन गर्न चाहेको उल्लेख गरेका छन्।
सुरक्षा निकायबाट भरपर्दो सहयोग नपाएको गुनासो गर्दै उनले बालुवाटारमै प्रवेश गरेर भएको आक्रमण आफ्नो हत्या गर्ने योजनासहितको नियोजित प्रयास भएको दाबी गरेका छन्।
लिखित बयानमा ओलीले शान्तिपूर्ण प्रदर्शनमा अराजक समूहको घुसपैठ भएको र बिना योजना एकैपटक संसद् भवन, सर्वोच्च अदालत र प्रधानमन्त्री निवास जस्ता क्षेत्रमा यति ठुलो क्षति पुर्याउन सम्भव नहुने तर्क गरेका छन्। उनले यस आन्दोलनमा भू-राजनीतिक खेल र बाह्य शक्तिको समेत हात रहेको आशंका गर्दै घटनाको गहिरो खोजीनीति हुनुपर्ने माग गरेका छन्। सामाजिक सञ्जाल बन्द गर्ने निर्णय विदेशी कम्पनीहरूको नियमन र कर छली रोक्ने असल मनसायले गरिएको उनको स्पष्टीकरण छ।
सुरुमा आयोगमै उपस्थित भएर बयान दिन अस्वीकार गरेका ओलीले सरकारको मध्यस्थतापछि लिखित जवाफ पठाएका हुन्। सोही दिन उनले राष्ट्रिय मानवअधिकार आयोग पुगेर उक्त घटनाका बारेमा साढे दुई घण्टा लामो मौखिक बयान समेत दिएका छन्।


