इटहरी–खनारको बुढीखोलामा चिप्लेटी खेल्नेको दैनिक घुइँचो
इटहरी । इटहरी उपमहानगरपालिका–खनारस्थित बुढीखोलामा पछिल्लो समय पानीमा चिप्लेटी खेल्न जाने आन्तरिक पर्यटकहरूको संख्या उल्लेख्य रूपमा बढेको छ। बुढीखोलाको पुल तथा बाँध आसपास दैनिकजसो मानिसहरूको बाक्लो भीड लाग्ने गरेको देखिन्छ।
तर बढ्दो भीडसँगै लडेर घाइते हुने, ढुंगामा ठोक्किने तथा कसैका कपडा च्यातिने जस्ता घटनाहरू पनि बढ्न थालेका छन्। खोलामा पानी र ढुंगाका कारण चिप्लिने जोखिम उच्च रहेकाले यहाँ सुरक्षा चुनौती थपिएको स्थानीयहरू बताउँछन्।
सामाजिक सञ्जालमा चिप्लेटी खेल्दै गरेका भिडियोहरू भाइरल भएपछि बुढीखोलाको चर्चा अझ बढेको हो। यसैबीच, बुढीखोला झरना संरक्षण व्यवस्थापन समितिले उक्त स्थानलाई सुरक्षित र व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले आवश्यक संरचना निर्माण तथा व्यवस्थापनका काम सुरु गरिएको जनाएको छ।


