लेटाङकी १६ वर्षीया किशोरीबाट जन्मिएको नवजात शिशुलाई अस्पतालमै छोडिएपछि बालआश्रममा
उर्लाबारी। लेटाङ नगरपालिका–८ निवासी १६ वर्षीया किशोरीबाट जन्मिएको नवजात पुरुष शिशुलाई आमाले अस्पतालमै छोडेर गएपछि उर्लाबारी–७ स्थित नमुना बालआश्रममा अस्थायी संरक्षणमा राखिएको छ।
मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर, उर्लाबारीका अनुसार माघ ९ गते उक्त शिशुको जन्म भएको थियो। जन्मपछि आमाले शिशुलाई अस्पतालमै छोडेर सम्पर्कविहीन बनेपछि शिशु बेसहारा अवस्थामा परेको थियो।
उर्लाबारी नगरपालिकाकी उप–प्रमुख मिना खतिवडा पौडेलका अनुसार बालबालिका सम्बन्धी ऐन, २०७५ बमोजिम शिशुको तत्काल संरक्षणको व्यवस्था गरिएको हो। शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको र आवश्यक हेरचाहको प्रबन्ध मिलाइएको नगरपालिकाले जनाएको छ।
शिशुको दीर्घकालीन व्यवस्थापनका लागि नमुना बालगृहमा अध्ययन गरी आवश्यक प्रतिवेदन पेश गर्न जिम्मेवारी दिइएको छ। साथै, शिशुलाई छोड्ने व्यक्तिको खोजी गरी कानुनी प्रक्रिया अगाडि बढाइएको नगरपालिकाले जानकारी दिएको छ।


