मोरङको लेटाङ स्थित किरातेश्वर शिवालय मन्दिरमा चोरी, अनुसन्धान सुरु
लेटाङ,१३ माघ। मोरङको लेटाङ–८ स्थित जाँते बजारमा रहेको किरातेश्वर शिवालय मन्दिरमा गएराति चोरी भएको छ। मन्दिरको कम्पाउन्ड गेट भित्र प्रवेश गरी अज्ञात व्यक्तिले दानपेटिकालगायत बाकसमा राखिएको सामग्री चोरी गरेको जनाइएको छ।
मन्दिर व्यवस्थापन समितिका सचिव पदम पौडेलका अनुसार चोरीको घटना आज बिहान थाहा भएको हो। उहाँले दानपेटिकामा रहेको सामग्री चोरी भएको जानकारी दिनुभयो।
घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय लेटाङको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ। इलाका प्रहरी कार्यालय लेटाङका प्रमुख सागर साहले चोरीमा संलग्न व्यक्तिको खोजी कार्य तीव्र रूपमा भइरहेको जानकारी दिनुभयो।
घटनाले स्थानीयवासी तथा भक्तजनहरूमा चिन्ता पैदा गरेको छ भने मन्दिरको सुरक्षा व्यवस्था थप मजबुत बनाउन माग उठ्न थालेको छ।

