घरमै सुतिरहेका आमा-छोराको हत्या,बुहारी प्रहरी नियन्त्रणमा
बारा । बाराको परवानीपुर गाउँपालिका–१ रहरीया टोलमा गएराति आमा र छोराको धारिलो हतियार प्रहार गरी हत्या भएको घटनामा प्रहरीले शंकाको आधारमा बुहारीलाई नियन्त्रणमा लिएको छ। ४६ वर्षीया सुमित्रा देवी र उनका ३० वर्षीय छोरा रामेश्वर मण्डलको आफ्नै घरमा सुतिरहेको अवस्थामा हत्या भएको हो।
बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार घटनाको अनुसन्धानका लागि मृतकका परिवारकै २८ वर्षीया बुहारी मनिता देवीलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ। “घटना कसरी र किन भएको हो भन्ने विषयमा बुहारीसँग बयान लिइँदैछ,” उनले बताए। बयानपछि थप तथ्य खुल्ने प्रहरीको विश्वास छ।
बुधबार राति करिब २ बजेको समयमा अज्ञात व्यक्ति घरभित्र प्रवेश गरी धारिलो हतियारले आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनामा घाइते भएका ५० वर्षीय जगरुप महतोको वीरगन्जस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ। हाल प्रहरी घटनास्थलमै पुगेर प्रमाण संकलन तथा विस्तृत अनुसन्धानमा जुटिरहेको छ।

